युवा तथा खेलकुद मन्त्रालयले ९ खेलाडी र २ प्रशिक्षक गरी ११ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कार बुधबार प्रदान गरेको छ।
सम्मानित हुने सबै भन्दा बढी एथलेटिक्स खेलाडीको संख्या तीन रहेको छ। केशरी चौधरी, सुनील चौधरी र प्रमिला चौधरी सम्मानित भए।
त्यस्तै सम्मानित हुने अन्य खेलाडीमा करातेकी विमला तामाङ, क्रिकेटका सोमपाल कामी, तेक्वान्दोकी ज्ञानी चुनारा, पारा एथलेटिक्सका विक्रमबहादुर राणा, किक बक्सिङका दिवस श्रेष्ठ तथा भलिबलकी विनिता बुढाथोकी छन्। सुनील र प्रमिलाले समान ५०–५० हजार पाए। अन्य ७ खेलाडीले जनही १ लाख रुपैयाँ प्राप्त गरे।
सम्मानित हुने प्रशिक्षकमा क्योकुसिन करातेकी सन्जु महर्जन र ब्याडमिन्टनकी रजनीमैया जोशी रहेका छन्।
सम्मानितहरुलाई उप्रधान तथा गृह मन्त्री वामदेव गौतम, युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललगायतले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रबीच प्रशंसापत्र र नगद पुरस्कार प्रदान गरे।
सम्मान कार्यक्रमअघि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रत्नपार्कदेखि प्रतिष्ठानसम्म प्रभातफेरी आयोजना गरिएको थियो। सोही प्रभातफेरी प्रतिष्ठानमा पुगेर कार्यक्रममा परिणत भएको थियो।