२८ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत दल तथा पक्षलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् ।
व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले वार्ता र सम्वादबाटै समाधान खोज्न सकिने भन्दै आन्दोलनका कार्यक्रमहरु फिर्ता लिन आग्रह गरेका छन् । ‘आन्दोलन गरेर अधिकार पाउने अवस्था छैन ।
संविधानमै सबैका अधिकारहरु उल्लेख हुन्छन्’ कोइरालाले भने-‘किन यसमा विश्वास छैन । मधेसका साथीहरुलाई संघीयता आउँछ भनेर किन विश्वास गर्नुहुन्न ?’
प्रदेश सीमांकनको विषयलाई लिएर देशमा भइरहेको आन्दोलन र त्यहाँका जनताले राखेको मागप्रति प्रमुख दलका शीर्ष नेताहरुले अत्यन्त गम्भीरताका साथ लिएको कोइरालाले बताए । सीमांकनमा केही त्रुटी कमजोरी भए स्म्वाद र सहमतिबाटै सच्याउन सकिने उनले बताए ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गर्दै प्रधानमन्त्री कोइरालाले भने-मेरो कुरा सही । अरु गलत भनेर हुँदैन । आन्दोलनको बाटो छाडेर वार्ता र सम्वादबाटै समाधान खोजौं ।’
सुर्खेतलगायतका जिल्लामा भएका आन्दोलनमा दुःखद घटना भएको उनले बताए ।
प्रधानमन्त्री कोइरालाले अहिले भइरहेका केही घटना संविधानविरोधी भएको भन्दै अराजकता मच्चाउन खोजे प्रहरी प्रशासन चुप लागेर नबस्ने बताए । उनले भने, कुनै पनि अवस्थामा संविधान जारी गर्ने प्रक्रिया रोकिँदैन । कुनै कमी कमजोरी भए सुधार गरेर जान्छौं ।’