२७ साउन, देउखुरी । दाङको देउखुरीमा दुईवटा गाडी ठोक्किँदा नेपाली सेनामा कार्यरत एकजनाको मृत्यु भएको छ । ८ जना गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत देउखुरीको सिसहनिया-४ पिपरीमा ना १ ज १४१३ नम्बरको महिन्द्रा जिप र बा ५ च ५०२२ नम्बरको बोलेरो जिप ठोक्किएका थिए ।
दुर्घटनामा सुर्खेत घर भइ हाल नेपाली सेना देविदत्त गण रोल्पामा कार्यरत ३० वर्षीय बलबहादुर खड्काको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्षमणबहादुर शाहीले जानकारी दिए ।
घाइतेहरुको अवस्था गम्भीर छ । ६ जनालाई थप उपचारका लागि बुटवल लगिएको छ भने दुई जनालाई नेपालगञ्ज पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र लमहीले जनाएको छ ।
सिसहनिया-४ पिपरी निवासी २६ वर्षीया कुसली चौधरी, सोही ठाउँ निवासी २० वर्षीय पम्फा गुरुङ , कपिलवस्तु विद्यानर-७ निवासी ४१ वर्षीय चालक उसमान खान, रुकुम पिपल-३ निवासी ३५ वर्षीय शसीराम खत्री, अमेलीया घर भएका २२ वर्षीय राजेन्द्र यादव र अर्काे नाम ठेगाना नखुलेका एक पुरुषलाई उपचारका लागि बुटवल पठाइएको छ ।
यसैगरी कपिलवस्तु बहादुरगञ्ज निवासी ३० वर्षीय सहजात यहमन र कालीकोट घर भएका २७ वर्षीय प्रेमबहादुर बुढालाई थप उपचारका लागि बाँकेको नेपालगञ्ज लगिएको छ ।