काठमाडौँ, असार ३१, टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गतको चौथो खेलमा नेपाल हङ्कङसँग पाँच विकेटले पराजित भएको छ ।
पराजित भएसँगै नेपालको भारतमा हुने विश्वकपका लागि छनोट हुने सम्भावन कठीन बनेको छ । हारसँगै नेपाल समुह ए को पाँचौं स्थानमा झरेको छ । अब नेपाल विश्वकपमा छनोट हुन बाँकी खेल जित्नु आवश्यक छ भने अन्य टोलीको नतिजा पनि कुर्नुपर्ने हुन्छ । अब नेपालले शुक्रबार पपुवा न्युगिनी र शनिबार जर्सीसँग प्रतिस्पर्धा गर्नेछ ।
आयरल्यान्डको बेलफास्टमा गएराती सम्पन्न खेलमा हङ्कङले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले पूरै विकेट गुमाएर हङ्कङलाई ११० रनको मध्यम स्कोरको लक्ष्य दिएको थियो ।
जवाफी व्याटिङमा आएको हङकङको सुरुवात भने राम्रो थिएन् । सोमपाल कामीले हङकङका इरफान अहमदलाई पहिलो बलमा आउट गरेपछि नेपालले आशा जगाएको थियो । तर पहिलो विकेट गुमाएपछि संयमित भएर खेलेको हङ्कङले दोस्रो विकेटका लागि अंशुमान राथ र निजाकात खानले महत्वपूर्ण ४८ रनको साझेदारी गरे । यो नै जितको मुख्य आधार बन्यो ।