पछिल्लो तीन वर्षको तथ्यांक अनुसार मुलुकमा औलो रोगका बिरामीको संख्या बढेको पाइएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०६५-०६६ देखि घटिरहेका औलोका बिरामी आर्थिक वर्ष २०७३-०७४ देखि बढ्न थालेका हुन् ।
आर्थिक बर्ष २०६५-०६६ मा औलोका ३ हजार ५ सय ७७ बिरामी भेटिएकामा यो संख्या आर्थिक बर्ष २०७२-०७३ मा घटेर ९ सय ९१ पुग्यो । तर, आर्थिक बर्ष २०७३-०७४ मा ११ सय २८ पुगेको औलोका बिरामीको संख्या आर्थिक बर्ष २०७४-०७५ मा ११ सय ८७ पुग्यो ।
यस्तै, सबैभन्दा बढी औलो रोगका बिरामी सुदूरपश्चिम प्रदेशमा भेटिएका छन् । आर्थिक बर्ष २०७४-०७५ मा सुदूरपश्चिम प्रदेशमा ५ सय ८६, कर्णाली प्रदेशमा २ सय ३३, गण्डकी प्रदेशमा ३६, प्रदेश ३ मा २६, प्रदेश २ मा ६६ र प्रदेश १ मा २४ बिरामी भेटिएका थिए ।
आर्थिक २०७४-०७५ मा औलो रोगका सबैभन्दा बढी बिरामी कैलाली जिल्लामा ३ सय १, मुगुमा १ सय ४३, कञ्चनपुरमा १ सय ३७ भेटिएका छन् । पहिले नदेखिएका उच्च पहाडी र हिमाली जिल्लामा समेत औलो देखिन थालेको छ ।
बाजुराको कोल्टी र मुगुको ह्यांलुगमा औलोका बिरामीहरू भेटिन थालेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई समयमा रोग निदान र उपचार गर्न चुनौती थपिएको छ ।
बाजुरामा आर्थिक वर्ष २०७५-०७६ शुरु भएदेखि ११ वैशाख २०७६ सम्मको आठ महीनाको अवधिमा औलोका ८२ बिरामी फेला परेका छन् । बाजुरामा आर्थिक बर्ष २०७४-०७५ मा औलोका ६० जना मात्र बिरामी फेला परेका थिए ।
यस्तै, उच्च हिमाली जिल्ला मुगुमा वर्ष २०७५-०७६ शुरु भएदेखि ११ वैशाख २०७६ सम्मको आठ महीनाको अवधिमा एक सय ६८ औलोका बिरामी भेटिएका छन् । आर्थिक बर्ष २०७४-०७५ मा यो संख्या एक सय ४३ मात्र थियो ।
दातृ निकाय ग्लोबल फण्डको आर्थिक सहयोगमा मुलुकमा औलो रोग निवारणका कार्यक्रम चलिरहे पनि त्यसको प्रभावकारिता देखिएको छैन । ग्लोबल फण्डले पछिल्लो दुई वर्षमा औलो रोग निवारण सम्बन्धी कार्यक्रमका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
आगामी तीन वर्षका लागि ग्लोबल फण्डले थप ४३ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।
-साभार- हिमाल खबर