५२ हजार रुपैयाँ घुस बापतको रकम सहित अख्तियारको फन्दामा परेका नायब सुब्बा लक्ष्मण बहादुर चन्दले कसुर गरेको पाईएपछि विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।
नेपालगंज भन्सार कार्यालय, नेपालगंज बाँकेमा कार्यरत नायव सुब्बा लक्ष्मण बहादुर चन्दले भन्सारबाट आयात हुने चामल लगायतका अन्य विभिन्न सामानहरुको प्रज्ञापन पत्र बनाइदिने, भन्सार जाँच पासमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस रकम माग गरेपछि उनी अख्तियारको फन्दामा परेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले नायव सुब्बा लक्ष्मण बहादुर चन्दलाई ५२ हजार घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा चन्दले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि भएपछि उनीलाई बिगो ५२ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन मागदाबी लिई आरोप पत्र दायर गरिएको प्रवक्ता प्रदीप कुमार कोइराला द्धारा जारी प्रेस बिज्ञप्ती उल्लेख गरिएको छ ।