विश्वव्यापी तापमान वृद्धिका भौतिक र आर्थिक असरहरू तीव्र गतिमा बढिरहेको संयुक्त राष्ट्रसङ्घको मौसम सम्बन्धी निकाय डब्ल्यूएमओले बताएको छ । उसका अनुसार अहिलेसम्मकै उच्च तहमा पुगेको हरितगृह ग्यासले विश्वको तापमान ’निकै खतरनाक तहमा’ पु¥याउँदैछ ।
यो विवरण डब्ल्ल्यूएमको २५ औँ वार्षिक प्रतिवेदन ’स्टेट अफ द क्लाइमेट’ मा प्रकाशित भएको छ । भर्खरै प्रकाशित अन्तराष्ट्रिय ऊर्जा निकाय आईईएको अर्को प्रतिवेदनले सन् २०१८ मा कार्बन डाइअक्साइडको मात्रा बढेको देखाएको थियो ।
सर्वप्रथम सन् १९९३ मा डब्ल्यूएमओको प्रतिवेदन प्रकाशित हुँदा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा ३ सय ५७ पीपीएम थियो । अहिले बढेर यो मात्रा ४ सय ५ दशमलव ५ पीपीएम पुगेको छ र थप बढ्ने अनुमान गरिएको छ ।
कार्बन डाइअक्साइडको बढ्दो मात्राले तापमान वृद्धि भएको छ । सन् १८५० देखि १९०० को अवधिमा भएको तापक्रमभन्दा अहिलेको तापक्रम एक डिग्री सेन्टिग्रेडले बढी छ । उक्त अध्ययनका अनुसार सन् २०१५ देखि २०१८ का वर्षा सर्वाधिक गर्मी भयो ।
अभिलेख राख्न थालेदेखि सन् २०१८ चौथौ सर्वाधिक गर्मी वर्ष हो । सन् २०१८ मा समुद्री सतह पनि पहिलाको विश्वव्यापी रूपमा औसत ३ दशमलव ७ मिलिमिटरले बढिरहेको छ ।
सन् २०१८ मा भएका मुख्य मौसमी असर
१) प्रतिवेदनका अनुसार सन् २०१८ मा छ करोड २० लाख मानिसहरूलाई प्रभाव पार्ने घटना मौसमी विपद् चरम मौसम र जलवायु सम्बन्धी घटनासँग सम्बन्धित थिए ।
२) साढे तीन करोड मानिसहरू बाढीबाट प्रभावित भए ।
३) फ्लोरेन्स समुद्री आँधी र माइकल समुद्री आँधी सन् २०१८ मा अमेरिकामा भएका १४ मध्ये सर्वाधिक क्षति पु¥याउने घटना हुन । तिनलाई ’अर्बौँ डलरका विपद्’ मानिन्छ ।
४) म्याङ्कुट आँधीका कारण खासगरी फिलिपिन्समा मात्र २४ लाख मानिस प्रभावित भए, कम्तीमा १ सय ३४ को ज्यान गयो ।
५) युरोप, जापान र अमेरिकामा १६ सयभन्दा बढी व्यक्तिको मृत्यु तातो वायुलहर र भीषण डढेलोका कारण भयो ।
६) भारतको केरलामा ठूलो वर्षा हुँदा झन्डै एक शताब्दीको सबैभन्दा नराम्रो बाढी आयो ।
७) विश्व मौसम सङ्गठनका प्रमुखका अनुसार विश्वव्यापी तापमानका असर सन् २०१९ मा समेत निरन्तर देखिएको छ । मार्च अन्तिम साता अन्तराष्ट्रिय ऊर्जा निकायले प्रकाशित गरेको अर्को तथ्याङ्क चिन्ताजनक छ ।
८) सो तथ्याङ्कका अनुसार छ वर्षभित्र ऊर्जा खपत तीव्र गतिमा बढेकाले सन् २०१८ मा कार्बन उत्सर्जन १ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ ।
–साभार : बिबिसी नेपाली