बर्दिया जिल्लाका स्थानिय सरकार प्रमुखहरुले खानेपानी र सरसफाईका बिषयमा काम गर्ने बताएका छन । सुन्दा साना–साना लाग्ने कुरा भएपनि प्रत्येक जनता सँग जोडिएको बिषय भएकाले खानेपानी र सरसफाईका बिषयमा बिभिन्न संघ–संस्थाहरु सँग सहकार्य र समन्वय गरी अगाडी बढ्ने कुरा बताएका हुन ।
बाँसगढीमा आज भएको खानेपानी सरसफाई तथा स्वच्छताका लागि पानी सुरक्षा र स्वस्थ सुरुवात कार्यक्रमको जिल्ला समन्वय बैठ्कमा बाँसगढी र बढैयातालका स्थानिय सरकारका प्रमुखहरुले यस्तो बताएका हुन ।
व्याकवार्ड सोसाईटी एजुकेशन (वेस) बर्दियाको आयोजना, वाटर एडको आर्थिक सहयोग र स्थानिय सरकारको समन्वयमा जिल्ला समन्वय बैठ्क भएको हो । बैठ्कमा बोल्दै बाँसगढी नगरपालीकाका नगर प्रमुख सालिकराम अधिकरीले बर्दिया जिल्लामा नै खानेपानी र सरसफाई चुनौतिको रुपमा देखिएकाले स्थानिय सरकार यस बिषयमा चिन्तनशिल रहको बताउनुभयो ।
बढैयाताल गाँउपालीकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले स्थानिय सरकारका आगामी योजना तथा बजेटमा खानेपानी र सरसफाईलाई समेट्ने बताउनुभयो । सरकार प्रमुखहरुले स्थानिय तहका योजनाहरुलाई बढी भन्दा बढी जनतालाई लाभमुलक बनाउने प्रतिबद्धता समेत जनाएका छन ।
त्यस्तै जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकर प्रसाद थारुले स्थानिय सरकारहरुले बिकास निर्माणका योजनाहरुलाई मात्र ध्यान दिईरहेकाले जनता सँग जोडिएका साना बिषयमा पनि ध्यान दिनु पर्ने बताउनुभयो ।
उहाँले जनताको चेतनामा परिवर्तन गरी सरसफाई र नमुना पालिकाको रुपमा बिकास गर्न तर्फ स्थानिय सरकार अग्रसर हुनु पर्ने कुरामा जोड दिनुभयो । बैंठकमा सहभागिहरुले बर्दिया जिल्ला पिउने पानीको जोखिममा रहेका जिल्ला मध्य तेस्रो स्थानमा रहेकाले सबैले सोच्नु पर्नेमा जोड दिएका छन ।
स्वस्थ सुरुवात कार्यक्रमका बारेमा कार्यक्रम संयोजक दिलिप कुमार यादवले सहजिकरण गर्दै कार्यक्रमको बजेट, उद्देश्य, उपलब्धी र क्रियाकलापका बिषयमा जानकारी दिनुभएको थियो । त्यस्तै खानेपानी सरसफाई तथा स्वच्छताका लागि पानी सुरक्षा कार्यक्रमका संयोजक नर बहादुर चौधरीले कार्यक्रमको बिषयमा जानकारी गराउनुभएको छ ।
कार्यक्रममा बाँसगढी नगरपालिकाका स्वास्थ्य संयोजक सुरेश कुमार रेग्मी, बढैयाताल गाँउपालीकाका स्वास्थ्य संयोजक बिष्णु पौडेल, बढैयाताल गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कान्छु थारु र बाँसगढी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जय बहादुर चन्द, खानेपानी तथा सरसफाई बर्दिया, जिल्ला खानेपानी महाँसघ बर्दिया, जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाका प्रतिनिधी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
–रावन बिश्वकर्माको सहयोगमा….