कालिमाटी गाउँपालिका कार्यालय सल्यानका कर्मचारी जानकारी बिना नै भम्रणमा गएपछि सेवाग्राहीले नियमित सेवा नपाएको गुनासो गरेका छन । दुर्गम गाउँ ठाउँबाट पुगेका सेवाग्राहीले कार्यालयमा कर्मचारी नभेटेपछि सेवा नपाई फर्कनु परेको गुनासो गरेका हुन ।
गाउँपालिका कार्यालयका निमित्त प्रशासकिय अधिकृत हर्क बहादुर ओली, योजना अधिकृत प्रदिप केसी, लेखापाल चन्द्र प्रकाश रेग्मी, कम्प्युटर अपरेटर बिरेन्द्र रेग्मी, गाउँपालिका अध्यक्षका स्वकिय सचिव दिपक केसी लगायतका कर्मचारी एकै साथ भम्रणमा गएपछि नियमित सेवा प्रवाहमा समस्या आएको छ ।
भ्रमण जाने बिषयमा गाउँपालिकाले कुनै औपचारिक निर्णाय नगरेपनि गाउँपालिकाले प्रयोग गर्दै आएका सवारी साधान नै प्रयोग गरी रारा भ्रमणमा गएको र विदाको दिन सहित लगातार तीन दिन देखी कार्यालयमा हाजिर नभएको उल्लेख छ ।
यस बिषयमा कालिमाटी गाउँपालिका कार्यालयका अध्यक्ष दान बहादुर केसीले पनि कर्मचारीहरु कार्यालयमा नआएपछि दैनिक सेवा प्रवाहमा असर परेको भन्दै कार्यालयमा हाजिर हुन साथ बैठक बसालेर स्पष्टिकरण लिईने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मलाई कुनै जानकारी छैन, एकै साथ जानकारी बिना नै होलीको बिदामा रारा गएको भन्ने सुने, दुई दिन देखी कार्यालयमा प्राविधिक तिरका इन्जिनियरहरुले गर्ने काम बाहेक अरु सबै काम हुन सकेको छै । भ्रमणमा गाउँपालिकाको गाडि र रकम प्रयोग भए नभएको बारेमा कर्मचारी आएपछि मात्रै थाहा हुन्छ ।”