काठमाडौं– सभामुख कृष्णबहादुर महराले संसदको हिउँदे अधिवेशनको दोस्रो दिन शुक्रबार शून्य र विशेष समय दुबै समय चलाए ।
कान्तिपुर दैनिक लेख्छ–सांसद हृदयश त्रिपाठीबाट सुरु भएको विशेष समयमा बोल्ने पालो प्रतिपक्षी दल नेपाली काँग्रेसका गगन थापाको आयो । सभामुखले उनलाई चार मिनेटको समय निर्धारण गरे ।
थापाले कर्मचारी समायोजन अध्यादेशको विरोध गरिरहेका थिए । बोल्न सुरु गरेको २ मिनेट ३२ सेकेण्डमै माइकको लाइन काटियो । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु भएको २४ मिनेट २० सेकेण्डमा थापाले बोल्न थालेका थिए ।
सभामुख महराले २६ मिनेट ५२ सेकेण्डमा लाइन काटिदिए । उनीपछि नेकपाका नरबहादुर धामीको बोल्ने पालो आयो । महराले धामीलाई तीन मिनेटको समय दिए ।
धामीले बोलिरहँदा थापा आफ्नो सिटबाट जुरुक्क उठेर काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुसालको सिटमा पुगे । आफूले पूरा समय बोल्न नपाएको उनीहरुलाई जानकारी गराए । त्यसपछि खाँडले बोल्न समय मागे र उनले माइक काटिएको विषयको विरोध गरे । तर महराले त्यसको बचाउ गरे ।