अनलाईननेपालगंज डटकम :
गीत संगीत हरेक मानिसको जिन्दगीको एक हिस्सा हो भने कुनै फरक नपर्ला । गीत संगीत मन नपर्ने व्यक्ति सायदै खोजेर भेटिएला । गीत संगीतमै केन्द्रीत भएर कुरा गर्ने हो भने यसको आफ्नै दुनिया छ । यो दुनिया भित्र धेरै व्यक्तिहरुको बास छ । सबैको आफ्नै किसिमको पहिचान र परिचय छ । गीत संगीत भित्र एक मुख्य पाटो शब्द रचना हो जसले नै गीतलाई पूर्णरुप दिने गर्दछ । शब्द रचना तयार पार्नु सबैको हातको कुरा नै होइन केहि सिमित व्यक्तिहरुको हातमा यो कलाको जादु परेको प्राय सबैलाई थाहा भएकै हो । अहिलेको नेपाली कला साहित्यमा धेरैको योगदान छ जसमा थुप्रै देशका तथा विदेशमा रहेका गीतकारहरुको पनि नाम आउछ । त्यहि गीतकारहरुको भिडको एक नाम हो कुमार मिश्र । अब्बल रचना गर्न सक्ने सर्जकको रुपमा नेपाली कला साहित्य क्षेत्रमा उनको परिचय रहेको छ ।
कुमार मिश्र एक सफल गीतकार जसले आफ्नो लेखन यात्रा बाल्यकाल देखि नै सुरु गरे । तर उनले आफ्नो कलालाई बाल्यकालको समयमा सहि दिशा दिन सकेनन । तर पनि उनले हार मानेनन र समयको प्रतिक्षा गरे । समय बित्दै गयो उनि भित्रको लेखन क्षेमताले पनि नया दिशा तर्फ इशारा गरेर अगाडी बढ्यो । अन्ततः उनले सहि दिशा तर्फ आफुलाई अग्रसर रुपले अगाडी सार्न पनि सके । हुन त हाल उनि नेपालमा होइनन उत्तर अमेरिकाको न्युयोर्क राज्यको रोचेस्टरमा बसोबास गर्दछन् । तर पनि उनि भित्रको नेपाली कला साहित्य प्रतिको लगाव र तिर्खा अमेरिका गएर पनि मेटिएको छैन । उनि अमेरिकाबाट पनि सक्दो प्रयासरत भएर यस क्षेत्रको विकास र समृद्धिको लागि निरन्तर रुपले लागिपरिरहेका छन् ।
उनले सक्रिय रुपमा यस क्षेत्रमा यात्रा सुरु गरेको ७ बर्ष बित्यो । उनि सक्रिय भएर लाग्नु भन्दा अगाडी भने उनिद्वारा लिखित फुटकर गीत कविताहरु कालेबुगँको साप्ताहिक पत्र पत्रिकामा प्रकाशित भएका थिए। बाल्यकाल देखि नै गीत तथा कविता लेखनमा रुची भएको उनको इच्छा शक्ति र लगावले गर्दा उनि आज यो स्थान सम्म आइपुगेको सजिलै अनुमान लगाउन सकिन्छ । उनको यो ७ बर्षको लेखन यात्रामा उनका धेरै रचनाहरु गीत र गजलको माध्यमले बाहिर आइसकेका छन् । हरेक पल्ट फरक गर्ने सोच राखेका उनले आफ्नो प्रत्यक रचनामा केहि नया कुराको अनुभूति नै गराउने प्रयास गरे । उनको यसै क्षेमताको कारण अमेरिका देखि नेपाल सम्म उनको लेखन शक्ति र शैलीको बेला बखतमा खुबै चर्चा समेत हुने गर्दछ ।
उनको “सामीप्य” नामक पहिलो एल्बम १ बर्ष अगाडी रिलिज भएको थियो । उनको उक्त एल्बममा स्वयम उनको एकल शब्द, कर्म ग्यालछेनको एकल संगीत र आवाजको साथमा नोर्बु शेर्पाको एकल संयोजन रहेको थियो । उक्त एल्बम आइ टिउनसबाट प्रकाशित भएको थियो । निकै सुन्दर शब्द रचनामा तयार भएका कर्णप्रिय गीतहरुले भरिएको उनको उक्त एल्बमले राम्रो चर्चा पायो । अमेरिकामा अझ बढी बिशेष रुपले उक्त एल्बम र उनको लेखन शैलीको प्रशंसा भयो जसको कारण उनि भित्र अझ बढी उर्जा उत्पन्न भयो । आफ्नो पहिलो एल्बम रिलिज पछि उनले बिस्तारै आफ्नो शब्द लेखन क्षेमतालाई पनि नया सोच सहित अगाडी बढाउदै गए । त्यस पश्च्यात अहिले हेर्ने हो भने बजारमा उनको शब्द लेखन र विभिन्न गायक गायिकाहरुको स्वरमा करिब १ दर्जन भन्दा बढी गीत बजारमा आइसकेका छन् ।
त्यस्तै उनको अनुसार अब २ दर्जन भन्दा बढी गीत र गजलहरु बजारमा सार्वजनिक हुने तयारीमा रहेको छ । यस्तै उनको “सामीप्य” एल्बममा समावेश “सताउ या मताउ” बोलको गजलले २०१८ टुब्रोग मिउजिक अवार्ड बेस्ट मेल भोकलिस्टबाट गायक कर्म ग्यालछेनलाई अवार्ड समेत दिलायो । आफ्नो शब्द रचनाको सहि मुल्यांकन र कदर भएको देख्दा निकै खुशी मिलेको उनले बताए । यस्तै आफ्नो रचनाले पाएको सम्मानको श्रय भने नेपाली दर्शकहरुको मायालाई जाने उनले उल्लेख गरे । दर्शक श्रोताको साथ र मायाको खाँचो आफुलाई सधै नै पर्ने समेत उनले बताए । उनको अब रिलिजको तयारीमा गीतमा टेकेन्द्र नेपालीको संगीत र गोपाल तामाङको स्वर रहेको उनले जानकारी दिए । गीतमा शब्द भने उनको नै रहेको छ । यसपटकको गीत अलिक फरक रहेको उनको भनाई छ ।
आगामी दिनको बिषयमा बोल्दै उनले जिन्दगीको अन्तिम समय सम्म पनि आफु यसै क्षेत्रमा नै लागिरहने बताए । उनले आफ्नो पहिलो प्राथमिकतामा नै नेपाली कला साहित्य र गीत लेखन पर्ने र यसको लागि आफुले सक्दो समयको व्यवस्थापन समेत गरेर निरन्तर यसमै लागिरहने उनले प्रतिबद्धता जाहेर गरे । यस्तै उनले आफ्नो रचनाहरु जिउँदो रहने भनेको नै दर्शक श्रोताहरुको माया र ममताले हो भनें कुरा समेत प्रष्ट पारे । यसकारण पनि आफुलाई औधि नै दर्शक श्रोताको साथ र हौसलाको खाँचो रहेको उनले बताए । यस्तै उनले आफ्नो प्रस्तुति हेरेर सहि मुल्यांकन गरि सल्लहा सुझाबको साथमा उचित प्रतिक्रिया समेत प्रदान गरिदिनुहुनको लागि देशमा तथा विदेशमा रहनु भएका समस्त दर्शक श्रोताहरुलाई हृदय देखि नै बिनम्र अनुरोध समेत गरेका छन् ।
हेर्नुस भिडियो :