नेपालगन्ज — बागेश्वरी मन्दिरको सुन–चाँदीका गहना यकिन गर्न ४५ वर्षपछि ढुकुटी खोलिएको छ । जीर्ण ढुकुटीमा भने २ तोला सुन र २० किलो ३ सय ४ ग्राम चाँदीका माला, देवीदेवतालाई ओढाउने छाता, बाघ तथा लक्ष्मीका साना मूर्ति मात्रै भेटिएका छन् ।
मालपोत कार्यालयमा बेवारिसे अवस्थामा फालिएका दुईवटा ढुकुटी खोलिएका हुन् । ठूलो ढुकुटीमा बागेश्वरी मन्दिरलाई दान गरिएको जग्गाको कागज पनि भेटिएको छ । सानोमा केही गहना फेला परेको बागेश्वरी गुठी व्यवस्थापन समितिले जनाएको छ । यसअघि ०२९ मा बागेश्वरी मन्दिरको गहना यकिन गरिएको थियो । करिब ५ दशकपछि ढुकुटी खोल्दा अभिलेखभन्दा कम गहना भेटिएको अधिवक्ता लोकबहादुर शाहले बताए ।
शाहलगायतका अधिवक्ताहरूले बागेश्वरी मन्दिरको सम्पत्ति व्यवस्थापनका लागि अदालतमा रिट दर्ता गरेका थिए । उनले बुधबार भेटिएका र ०२९ सालको अभिलेखमा उल्लेख भएअनुसारको गहनाको विवरणको अध्ययन भइरहेको बताए । ‘५ दशकअघिको अभिलेखमा यो भन्दा बढी गहना उल्लेख भएको देखिन्छ । त्यसैले खोजी गर्न आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि अनुसन्धान गर्दै छौँ ।’
बागेश्वरी मन्दिरको ०२९ मंसिर ८ गतेको अभिलेखमा सिंहको मूर्ति बनेको डिब्बा चाँदी ८३ को थान २, खम्बा बनाइएको चाँदी तोला १२० को थान २, भैरव गरुड चाँदी तोला १६५ को थान २, करुवा चाँदी तोला ४७ को थान १, बत्ती बाल्ने पानस चाँदी तोला ४८ को थान १, बत्ती बाल्ने आरती तोला १३ को थान १, बाघको मूर्ति चाँदी तोला २३ को थान २ गहना रहेको उल्लेख छ ।
उक्त विवरणअनुसारका गहना ढुकुटीमा भेटिएनन् । ४५ वर्षको अवधिमा गहना बढ्नुपर्नेमा घटेपछि चोरी भएको शंका गरिएको छ । मालपोत कार्यालयमा अलपत्र अवस्थामा रहेको मन्दिरको ढुकुटी ५ दशकपछि खोलिएपछि सर्वसाधारणको चासो मेटिएको छ । उच्च अदालत बार नेपालगन्ज इजलासको आदेशमा बागेश्वरी गुठी व्यवस्थापन समितिले ढुकुटी खोलेको हो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख तथा व्यवस्थापन समित अध्यक्ष डा. धबलशमशेर राणा, जिल्लाका सरकारी अधिकारी, कानुन व्यवसायी र सञ्चारकर्मीको बाक्लो उपस्थितिमा ढुकुटी खोलिएको थियो ।
उच्च अदालत नेपालगन्ज इजलासले मन्दिरको नाममा रहेको चल, अचल सम्पत्ति पारदर्शी र व्यवस्थित गर्न समिति गठन गरेपछि सम्पत्ति यकिन गर्न थालिएको छ । उक्त समितिका संयोजक नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखलाई तोकिएको छ । नेपालगन्ज उपमहानगरका प्रमुख डा. राणाले ढुकुटी खोलेका थिए । भक्तजनहरूले बागेश्वरी मन्दिरमा सुन र चाँदीका मूर्ति चढाउने परम्परा छ । त्यसको अभिलेखसमेत मन्दिर व्यवस्थापन समितिसँग छैन । चैतेदसैं र शिवरात्रिलगायत चाडपर्वमा हजारांै भक्तजन भाकल गर्न र भेटी चढाउन आउँछन् । मन्दिरको चारैतिर करिब ५० बढी व्यावसायिक सटर छन् ।