बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा हाइसको ठक्करबाट चिुतवाको मृत्यु भएको छ ।मंगलबार मध्यान्ह १२ बजेतिर नेपालगन्जबाट प्युठान जाँदै गरेको बा ४ ख २९७४ नम्बरको हाइसले बाँके राष्ट्रिय निकुन्जमा पर्ने पूर्वपश्चिम राजमार्गमा ठक्कर दिँदा घटनास्थलमै चितुवाको मृत्यु भएको हो ।राप्ती सोनारी गाउँपालिका–१ को बाघखोर भन्ने स्थानमा हाइसले चितुवालाई ठक्कर दिएको राष्ट्रिय निकुन्जले बताएको छ ।
चितुवालाई ठक्कर दिएर फरार भएको हाइससहित चालक प्युठानका ऐमलाल रानालाई अमेलिया प्रहरीले पक्राउ गरी बाँके राष्ट्रिय निकुन्जलाई बुझाइएको निकुन्जका निमित्त प्रमुख लालबहादुर भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार सडक पार गर्ने बेला तिव्र गतिमा रहेको हाइसले चिुतवालाई ठक्कर दिएको थियो । हाइसको ठक्करबाट चितुवाको मृत्यु भएपछि भागेका चालक रानालाई प्रहरीको टोलीले अमेलियामा पक्राउ गरी मंगलबार नै बाँके राष्ट्रिय निकुन्जलाई बुझाइएको भण्डारीको भनाई छ ।
चालकलाई अनुसन्धान भइरहेकाले वन्यजन्तु तथा राष्ट्रिय निकुन्ज ऐन २०२९ अनुसार कारबाही गरिने बताए । शितलहरका कारण बाख्लो हुस्सु लागेका कारण जनावरहरु बाटोमा क्रस गर्दा तिव्र सवारीको शिकार हुने गरेका छन् ।
निकुन्जले वन्य जन्तुको क्षेत्रमा सवारी साधान सिमीत गतिमा चलाउन अनुरोध समेत गरेको छ । चितुवा अन्दाजी तीन वर्षको भएको बताइएको छ ।