नेपालको पुरानो पाँच तारे होटल सोल्टीको ब्रान्डमा पहिलोपटक काठमाडौं बाहिर चार तारे होटल सञ्चालनमा आएको छ।
काठमाडौंमा होटल सोल्टी क्राउनप्लाजा सञ्चालन गरिरहेको सोल्टी होटल लिमिटेडकै लगानीमा नेपालगन्जमा चारतारे होटल सञ्चालनमा आएको हो।
‘सोल्टी वेस्टेन्ड प्रिमियर’ को नामबाट सञ्चालित उक्त होटलको स्वामित्व सोल्टी इन्टरप्राइजेज र एनई ग्रुपको संयुक्त कम्पनी सिवक्रिम होटल एन्ड रिसोर्ट प्रा.लि.मा हुनेछ।
सन् २०१४ देखि निर्माण सुरु भएको उक्त होटल निर्माणको काम सबै सम्पन्न भएको र सन् २०१८ को जनवरी १ देखि ग्राहकलाई स्वागत गरिने सिवक्रिम होटल एन्ड रिसोर्टका प्रमुख कार्यकारी अधिकृत साम्बा शाहले सेतोपाटीलाई जानकारी दिए।
नेपाली कम्पनी हिमालयन बिल्डर्सले होटलको भौतिक निर्माणको काम गरेको र विभिन्न प्रकोपका बीच पनि २६ महिनामै पुरा गरेको होटलका प्रबन्ध निर्देशक इन्द्र खड्काले जानकारी दिए।
नयाँ वर्षमा बलिउड कलाकारहरुको सहभागितामा कन्सर्ट आयोजना गरिएको र उक्त कार्यक्रमपछि होटल औपचारिक रूपमा सञ्चालन हुने शाहले जानकारी दिए।
‘होटल सञ्चालनमा त आइसक्यो २० डिसेम्बरदेखि बुकिङ लिन सुरु गरिसकेका छौं, तर गेष्टहरु भने नयाँ वर्ष पछि मात्र आउँछन्’, शाहले भने, ‘नयाँ वर्षमा बम्बईबाट गायक र दिल्लीबाट डान्सर बोलाएका छौं त्यसपछि गेष्ट आउँछन्।’
उक्त पार्टीमा इन्डियन आइडलसहितका भारतीय कलाकारसमेत नेपालगन्ज आउने उनले बताए।
यसैबीच पूर्वराजपरिवार नयाँ वर्ष सोल्टीमै मनाउने गरी नेपालगञ्ज गइसकेका छन्। त्यहाँ पूर्व राजाले होटलको औपचारिक उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ। उनी बिहिबार नेपालगञ्ज पुगेका छन्। सोल्टी होटल लिमिटेडमा पूर्व राजाको पनि लगानी रहेको छ।
२० डिसेम्बरदेखि बुकिङ खुल्ला गरेको होटलले अहिले भने ५० कोठामात्र बिक्रीमा राखेको छ। ८४ कोठा भएकोमा स्वीट रूमलाई घटाउँदा ८१ व्यवसायिक कोठा भएको होटलले बाँकी कोठा भने सन् २०१८ को मार्चबाट सुरु गर्ने प्रबन्ध निर्देशक खड्काले जानकारी दिए।
वातावरणीय अनुकुल हुनेगरी निर्माण गरिएको र क्लासिक डिजाइको साजसज्जासहित नेपाली ब्रान्ड र सोल्टीको आफ्नै व्यवस्थापनमा सञ्चालन हुनेछ। यसमा सोल्टी क्राउन प्लाजाको कुनै पनि सहभागिता हुनेछैन।
तर गुणस्तरमा भने सोल्टीले कुनै सम्झौता नगर्ने खड्काको भनाइ छ।
‘नेपालगञ्जको सोल्टीमा हाम्रो आफ्नै व्यवस्थापन हो, तर सोल्टीको लामो समयदेखिको अनुभव तथा प्रविधिको कारणले सबै गुणस्तर पुरा हुन्छ सोल्टीकै अर्को कम्पनी सिवक्रिम भएकोले ले सक्षम व्यस्थापन यसमा प्रयोग हुन्छ’, उनले भने।
खड्काका अनुसार होटलका कोठामा एसीको ठाउँमा रेडियन्ड प्रविधि प्रयोग गरिएको छ। जसमा सिलिङमा मसिना पाइप टासिएको हुन्छ जुन एउटा प्रणालीमा आबद्ध हुन्छ। जाडो महिनामा उक्त पाइपको सञ्जालबाट तातो पानी प्रवाह हुन्छ भने गर्मीमा चिसो पानी।
होटल सञ्चालनको सुरूमै १५० जना भन्दा बढीले रोजगारी पाउने खड्काले जानकारी दिए।
अन्तर्राष्ट्रिय होटल चेन ओवरायको ६.१८ प्रतिशत सेयर किन्दै एनई ग्रुप सोल्टीमा प्रवेश गरेको थियो। सिवक्रिम ल्यान्डएन्ड इन्ड्रष्ट्रियल प्रालिको नामबाट सोल्टीको सेयर लिएपछि नयाँ कम्पनी बनाएर देशव्यापी सोल्टीकै नामबाट होटल निर्माण गर्ने लक्ष्य लिएको छ।
सोल्टीको ४६ र सिवक्रिमको ३० प्रतिशत शेयर रहने सिवक्रिम होटल एन्ड रिसोर्ट प्रालिले पोखरामा जग्गा लिइसकेको र यही आर्थिक वषभित्र निर्माणको काम सुरु हुने सिइओ शाहले जानकारी दिए।
वि.स. २०२२ मा हिमालय शम्सेर राणाले सोल्टी होटल स्थापना गरेका थिए।