धनगढी । दोस्रो चरणको निर्वाचनको मिति नजिकिएका बेला प्रधानमन्त्री शेरवहादुर देउवा प्रदेश नम्वर ७ मा आएका छन् । पत्र लेखेर डडेल्धुराका मतदातालाई मत मागिरहेका देउवाले शुक्रबार डोटी र र अछामका सभालाई सम्वोधन गरे । बिहान श्री एयरलाईन्सको हेलिकोप्टरबाट धनगढी पुगेका देउवाले निर्वाचनको सुरक्षा व्यवस्था मजबुद पारिएको बताए । धनगढी बिमानस्थलमा संवाददाताहरुसँग कुराकानी गर्दै उनले निर्वाचनको सुरक्षा व्यवस्था अत्यन्तै मजबुत पारिएको पनि बताए । उनले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरे ।
विमानस्थलवाट धनगढीको होटलमा आराम र कार्यकर्ताहरुसँग भेटघाट गरेपछि देउवाले डोटी गएर वोक्टान क्षेत्रमा भएको आम सभालाई सम्वोधन गरे । देउवाले त्यहाँ फाष्ट ट्रयाक बनाउने र बहुमुखी क्याम्पस स्थापना गरिने आश्वासन दिए । कांग्रेसले जितेमा प्रधामन्त्रीलाई गाली गर्न पाउने अधिकार पनि जनतामा सुरक्षित हुने भन्दै देउवाले कम्यूनिष्टले जिते तानाशाह लागु हुने आरोप लगाए ।
अछामका विभिन्न स्थानमा भएका भएका चुनावी सभालाई सम्वोधन गर्दै देउवाले लोकतन्त्रको संस्थागत विकासलाई कसैले खोस्न नसक्ने बताए । उनले नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ ले साँफेबगरमा र क्षेत्र नम्बर २ ले सदरमुकाम मंगलसेनमा आयोजना गरेको छुट्टाछट्टै चुनावी सभालाई सम्बोधन गरे ।
डोटी र अछामका आमसभालाई सम्वोधन गरी प्रधानमन्त्री देउवा हेलिकप्टरमार्फत नै धनगढी फर्किएका छन् । भोलिदेखि कैलाली, कञ्चनपुर र डडेल्धुराका विभिन्न स्थानमा आयोजना हुने चुनावी सभामा सहभागी हुने उनको निजी सचिवालयले जनाएको छ ।