नेपालगञ्ज । सघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मो. इस्तियाक राईले आफ्नो उम्मेद्वारी समग्र बाँकेको संमृद्धिका लागि भएको बताएका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका राईले आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य यस क्षेत्रका केही महत्वपूर्ण आयोजना र मुद्दालाई लागू गराउन भएको बताएका छन् ।
२१ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रचारको अभियानलाई तीव्रता दिँदै पूर्वमन्त्री राईले भने, ‘प्रदेश नं ५ को राजधानी नेपालगञ्जमा स्थापना गराउने, नेपालगञ्ज विश्वविद्यालय, नेपालगञ्ज अन्तर्रा्ष्ट्रिय विमानस्थल, नेपालगञ्ज चक्रपथ, हुलाकी सडक र राप्तीमा पुल निर्माण गर्नु मेरोलाई महत्वपूर्ण योजनाहरु हुन् ।’
यस्तै गरिनेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पताललाई सरकारी मेडिकल कलेज, निर्वाचन क्षेत्र नं २ भित्र लोडसेडिङको अन्त्य, स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटनलगायत क्षेत्रहरूमा विशेष जोड दिनेसमेत राईले बताएका छन् ।
‘नेपालगञ्ज उपमहानगरलगायत डुडुवाका प्रमुख बाटाहरूको स्तरोन्नति गर्ने र बाँकी अन्य बाटाहरूमा ग्राभेल गर्ने, बाढीपीडितलाई स्थायी बसोवासको व्यवस्था गर्नुछ,’ उम्मेदवार राईले भनेका छन, ‘बेरोजगार युवालाई रोजगारको व्यवस्था, अनुदान, सिचाइको समुचित व्यवस्था, मिलाउने लगायत एजेन्डा मसँग मात्रै छन् ।’
मतदाताहरुसँगको भेटघाटका क्रममा उम्मेद्वार राईले बाँकेको समग्र विकासका लागि आफूलाई मतदान गर्न आग्रह गर्ने गरेका छन् । उनले भनेका छन, ‘म बाँकेको स्थानीय व्यक्ति हुँ, जिल्लाको समग्र विकासका लागि सधैँ यहीँ बसेर काम गरिरहेको छु, बाँके जिल्लालाई अझै संवृद्ध बनाउनका लागि धरै विकास गर्नुपर्नेछ, त्यसका लागि मेरो पार्टी र मलाई भोट दिनुस् ।’
२०६४ सालको संविधानसभा निर्वाचन जितेर श्रम, रोजगार तथा यातायात मन्त्रीसमेत भइसकेका राईले पहाडी, मधेसी र मुस्लिम समुदायको नाममा अरु पार्टीहरुले राजनीति गर्न खोजेर खोक्रो राष्ट्रवादलाई बढवा दिएको समेत राईले बताए ।
‘म यही मिश्रित समुदायमा जन्मिए, जहाँ पहाडी, मधेसी, मुस्लिम, थारु सबै जातजाति र समुदाय मिलेर बसेका छन,’ उनले भने ‘म सबै जातजाति र समुदायलाई सम्मान गर्दछु मलाई सबैको सहयोगको आवश्यकता छ ।’