काठमाडौं, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नै आक्रमणको रणनीति बनाएको छ। विप्लव नेतृत्वको पार्टीका एक केन्द्रीय नेताका अनुसार ‘क्रान्तिलाई धोका दिएर एमालेसँग सतिजाने प्रचण्डलाई कारबाही गर्ने’ निर्णय नै भएको हो।
ती नेताका अनुसार प्रचण्डलाई चितवनकै कार्यक्रममा आक्रमणको योजना विप्लवको शीर्ष बैठकले गरेको हो। ‘यसको रिहर्सल रोल्पा, रुकुम, खोटाङ लगायतका जिल्लामा भइसकेको उनले बताएका हुन्।
ती नेताले नाम उल्लेख नगर्ने शर्तमा शुभदिनसँग भने, ‘अबको निशाना चितवन हो, जनयुद्धमाथि गद्दारी गर्ने प्रचण्ड हुन्।’ नेकपा माओवादी केन्द्रका उम्मेदवारमाथि आक्रमणको प्रयास भएपछि मुलुकभर सुरक्षा व्यवस्था कडा पारिएको छ।
चितवनको सुरक्षा व्यवस्था कडा
नेपाल प्रहरीका अनुसार चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ। केन्द्रीय सुरक्षा योजना अन्तरगत जिल्ला सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गरिएको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जनाएका हुन्।
थापाका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना रहने छ। ‘३ घेरामा सुरक्षाकर्मी परिचालन गरिनेछ,’ थापाले शुभदिनसँग भने, ‘र, राष्ट्रिय अनुसन्धान विभागको टोली पनि परिचालन गरिने छ।’
निर्वाचन प्रयोजनका लागि चितवनमा १ हजार ७ सय म्यादी प्रहरी परिचालन गरिने छ। ३ हजार २ सय ९६ नेपाल प्रहरी परिचालिन हुने एसपी थापाले बताएका छन्। सशस्त्र प्रहरी र नेपाली सेनाले मोबाइल टोली तथा मेजरकै कमाण्डमा ७५ जना वा क्याप्टेनका कमाण्डमा ५० जना परिचालन गरिने छ।
चितवन–३ मा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बनाएका छन्। शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे लगायत उम्मेदवार रहेको चितवनलाई उच्च सुरक्षा प्राथमिकतामा राखिएको छ। – शुभदिन