केशव सावद/सुरञ्जन घिमिरे
काठमाडौं । देशैभरि चुनावी माहोल तातिरहेका बेला प्रदेश नम्बर ७ को कञ्चनपुर पनि चुनावी सरगर्मीबाट अछुतो छैन । ७ नम्बर प्रदेशमा चुनावी प्रचार–प्रसारमा नेपाली कांग्रेसको अग्रता देखिएको छ । ७ नम्बर प्रदेशको प्रवेशद्वार कर्णाली पुल पार गरेर कैलाली प्रवेश गर्दा राजमार्ग छेउछाउ चुनावी चहलपहल खासै नदेखिए पनि कञ्चनपुरमा भने चुनावी सरगर्मी बढेको छ ।
पूर्वपश्चिम राजमार्ग क्षेत्र आसपास पर्ने कञ्चनपुरको क्षेत्र नम्बर २ अन्तर्गतको कृष्णपुर, शुक्लाफाँटा र वेदकोट नगरपालिकामा नेपाली कांग्रेसले चुनावी चहलपहल बढाएको देखिएको छ ।
कांग्रेसले चुनावलाई लक्षित गरेर कृष्णपुरको गुलरिया बजार, शुक्लाफाँटाको झलारी बजार र वेदकोट नगरपालिकाको सिसैयामा सम्पर्क कार्यालय स्थापना गरेको छ । उसले ३ वटै सम्पर्क कार्यालय अगाडि बाँसको खाँबामा रुखको आकृति झल्किने गरी चुनावी प्रचार सामग्रीहरु प्रयोग गरेको छ । राजमार्ग क्षेत्र आसपासमा नेपाली कांग्रेसबाहेक अन्य दलको कुनै प्रकारको चुनावी प्रचार–प्रसार देखिएको छैन ।
कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसलाई राप्रपाले सघाएको छ । कञ्चनपुर क्षेत्र नम्बर ३ मा विवेकशील साझा पार्टीले चुनावी प्रचार–प्रसार बढाएको छ ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विवेकशील साझाका कार्यकर्ताहरु मोटरसाइकलमा पार्टीको झण्डा राखेर आफ्ना उमेदवारलाई विजयी बनाउने अभियानमा निस्किएका छन् ।
उता कम्युनिष्ट गठबन्धनको आन्तरिक तयारी भइरहेका कारण चुनावी प्रचार–प्रसारमा केही ढिलाइ भएको एमाले जिल्ला अध्यक्ष तारा लामा तामाङले बताएका छन् ।
नेपाली कांग्रेसले भने कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखकको उपस्थितिमा करिव एक दर्जन स्थानमा चुनावी भेला सम्पन्न गरिसकेको छ ।
को–को उमेदवार ?
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट दिवानसिंह विष्ट, २ मा एनपी साउद र ३ मा रमेश लेखक प्रतिनिधिसभा सदस्यमा उठेका छन् ।
तीनैजना दोस्रो संविधानसभा निर्वाचनमा चुनाव जितेका उमेदवार हुन् । तर स्थानीय तह निर्वाचनको मत परिणामअनुसार कम्युनिष्ट गठबन्धनसँग कांग्रेस कञ्चनपुरमा कमजोर अवस्थामा छ ।
कम्युनिष्ट गठबन्धनले क्षेत्र नमबर १ बाट बीना मगर, २ बाट नरबहादुर धामी र ३ बाट डा. दीपकप्रकाश भट्टलाई प्रतिनिधिसभा सदस्यका लागि उठाएको छ ।
साभार : बाह्रखरी