काठमाडौं – माओवादी युद्धकालमा घटेको एक घटनाको बिषयमा निर्माण भएको चलचित्र ‘तान्द्रो’ हेर्न का नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य (किरण) समेत हलमा पुगेका छन् । कोमल पोखरीस्थित सिटीसेन्टरमा गरिएको चलचित्रको प्रिमिएरमा वैद्यले रोचक पुर्वक पुरै चलचित्र समेत हरेका छन् । युद्धको घटना पर्दामा देख्दा मनै भारी भएको वैद्यले चलचित्र हेरेपछि प्रतिक्रिया दिए ।
अन्य चलचित्रको प्रिमिएरमा कलाकारको भिड लाग्ने गरेको थियो । तर ‘तान्द्रो’को प्रिमिएरमा भने कलाकारको खडेरी देखिएको छ । प्रिमिएरमा वैद्य सहित कार्यक्रममा विवेकशिल पार्टीकी नेतृ रन्जु दर्शना, सचिव तथा गीतकार शंकर पोखरेल लगायतको उपस्थिती रहेको थियो । कलाकार तर्फ भने, चलचित्रमा युनिटका अलवा अभिनेत्री निशा अधिकारी मात्र देखा परिन् ।
भोलीबाट देशभर सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्र ‘तान्द्रो’ माओवादी युद्धकालमा एक ब्यक्तिले भोगेको घटनालाई आधार बनाउँदै निर्माण भएको चलचित्र हो ।
वि.सं २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तात्कालिन माआवादीको साँस्कृतिक टोलीलाई राज्य पक्षबाट खटिएका सुरक्षा फौजले आक्रमण गरेको थियो । उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोशिशलाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म मकै बारिमा बिताएको दिन र पीडालाई ‘तान्द्रो’ले देखाउने प्रयास गरेको छ । चलचित्र भित्र अभिनेता दयाहाङ कमरेड कोशिशको भूमिकामा छन् ।
प्रिमियरमा चलचित्रले मिश्रित प्रतिक्रिया पायो । केही दर्शकले चलचित्र नबुझेको प्रतिक्रिया दिए भने केही राम्रो लागेको बताए । डकुमेन्ट्री बनाएर चलचित्रको रुपमा देखाउने काम भयो भन्ने स्वर पनि सुनिए । धेरैले जनयुद्धको समयको घटना पर्दामा हेर्दा डर लागेको प्रतिक्रिया समेत दिए । पर्दामा चलचित्रको दृश्यहरु धमिलो देखिएको थियो ।
साम्तेन भुटियाको निर्देशन रहेको चलचित्रमा दयाहाङका अलावा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्र निश्चल बस्नेतको ब्ल्याक हर्स पिक्चर र रामबाबु गुरुङको सिनेमा आर्टले संयूक्त रुपमा निर्माण गरेको हो । ‘तान्द्रो’का कार्यकारी निर्माता रामबाबु गुरुङ हुन् ।