उपेन्द्र यादवसँग सेतोपाटीका भानुभक्तले गरेको कुराकानीको सम्पादित अंशः
आन्दोलनमा दसगजा क्षेत्रमा बस्ने र भारतीय भूमिबाट प्रहरीलाई ढुंगा हान्ने जस्ता घटना हुनु जायज हो?
यादव ः नाकामा गएर बसेका नेपाली हुन्। प्रहरीले धपाएपछि उनीहरु कता जाउन त? अहिलेको महत्वपूर्ण कुरा दसगजामा मानिसहरू किन बसेका छन् भन्ने होइन, उनीहरुलाई दसगजामा बस्न किन बाध्य पारियो भन्ने हो। अहिले मधेस आन्दोलनमा भारतीय हात रहेको देखाउन विभिन्न हौवा फैलाइएको छ। आन्तरिक समस्या समाधान नगरी ध्यान अन्तै मोड्ने र मधेसलाई दमन गर्ने नीति सरकारमा बसेकाले अपनाएका छन्।
केही दिन अघि भारतीय विदेश मन्त्रालयले सीमा सूचारु गर्न आफ्ना सम्बद्ध निकायलाई निर्देशन दिएको थियो। नाकाबन्दी मोर्चाले गरेको हो कि भारतले?
यादवः सीमामा गएर बस्ने भारतीयहरु हुन् र? ती मधेसी हुन्। मधेस नेपालभित्रै पर्छ। भारतले त अस्ति नै सीमा सुचारु गर्न भनिसकेको छ। धर्नामा बसेका हाम्रा कार्यकर्तालाई भारतीय सीमा सुरक्षा बलका जवानले रुपडिया र सुनसरीमा कुटपिट गरेका छन्। अनि कसरी भारतले नाकाबन्दी गर्छ। नाकाबन्दी हामीले गरेका हौं।
दसैं, तिहार र छठ पर्व नजिएका छन्। सरकारसँगको वार्ता निष्कर्षमा नपुगे पनि चाडबाडका लागि नाका खोल्नुहुन्छ?
यादवः हामीले किन चाडबाडका लागि नाका खोल्ने? सरकारले ४० जना मधेसीलाई मारेर संविधान जारी गरेको हो, अरु सय ढेडसय मारेर दसैं तिहार मनाए हुन्छ। ‘दासत्वको जीवन बाँच्नुभन्दा मर्नु वेस’ भनेर हिँडेका हामीलाई दसैं तिहारको के अर्थ हुन्छ र?
source: setopati