काबुल । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको सिन्दान्द जिल्लामा तालिवानका नयाँ प्रमुख मुल्लाह अख्तार मुहमद मन्सुरका समर्थक र विरोधीबीच मङ्गलबारदेखि सुरु भएको झडपको कारण कम्तीमा पनि १८ जना आतंककारी मारिएका छन् ।
अफगानिस्तनको राजधानी काबुलबाट ६ सय ४० किलोमिटर पश्चिममा पर्ने उक्त जिल्लामा सो झडप भएको बताइएको छ । सो झडपमा परी समर्थक र विरोधी दुबै तर्फगरी १८ व्यक्ति मारिनुका साथै दश जना घाइते भएका अफगानिस्तानको स्थानीय टोलो टेलिभिजनले जनाएको छ ।
झडप बुधबार बिहानसम्म नै जारी रहेको पनि स्थानीय अधिकारीले बताएका सो टेलिभिजनले जानकारी दिएको छ । गत हप्तादेखि हालसम्म नयाँ प्रमुख मुल्लाह अख्तार समर्थक र विरोधीबीचको झडप यो तेस्रो पटक भएको जनाइएको छ ।
गत जुलाईको अन्त्यमा तालिवानी प्रमुख मुल्लाह मोहमद ओमारको मृत्यु भएको पुष्टि भएपछि मुल्लाह अख्तार मन्सुरलाई प्रमुख घोषणा गरिएको थियो । (सिन्ह्वा)