अचेल देशमा रमिता छ । यो रमिता नै हो। जब वास्तविक मुद्दाहरूबाट राष्ट्रको ध्यान भड्किएर जबर्जस्ती खडा गरिएका मुद्दामा केन्द्रित हुन्छ भने त्यो बेहोर्नेका लागि श्राप र हेर्नेका लागि रमिता नै हुन्छ। त्यसैले यो रमिता मात्रै होइन रमिताको पनि ‘क्लाईमेक्स’ हो। दुर्भाग्यपूर्ण रमिताको बेइमानीपुर्ण ‘क्लाईमेक्स’ हुन त राजनीति र रमितामा आकाश जमीनको फरक हुन्छ। तर जब राजनीतिसँग वास्तविक मुद्दाको सामना गर्ने ‘पुरुषार्थ’ हुँदैन तब उसले चलाखीपूर्वक मानवीय संवेदनालाई प्रभावित र विभाजित गर्न जात, धर्म र क्षेत्र जस्ता अनावश्यक र कृतिम मुद्दाहरूको हड्डी फाली दिन्छ। अनि सुरु हुन्छ रमिता। त्यसैले आज संघीयता लोकतान्त्रिक गणतन्त्र नेपालमा रमिता बनेको छ।
दुनियाँलाई रमिता देखाउन विशेष त दक्षिण एसियाली मुलुक र त्यहाँका जनताको मनोविज्ञान र त्यसलाई पढेर प्रयोग गर्ने सक्ने यहाँका नेताहरुको क्षमता अब्बल दर्जाको रहँदै आएको छ। अपवादलाई छोडेर यो क्षेत्रमा बन्ने सिनेमाहरु हेर्दा जति उडन्ते, बतासे र अति नाटकीय छ्न् त्यस्तै छ यहाँको राजनीति। जीवन एकातिर छ सिनेमा अर्कोतिर। जीवन एकातर्फ छ राजनीति अर्कोतर्फ। ८० प्रतिशत बेरोजगारी छ। ५०/५५ वर्षको औसत आयु। दिनको २ डलर आम्दानी छैन। बिजुली, पानी, स्वास्थ, शिक्षा यहाँसम्म कि शौचालयसम्म छैन। खाडीका देशमा रोजगारी नहुँदो हो त दक्षिण एसियामा मान्छेले मान्छे खाएको अर्को दुर्भाग्यपूर्ण रमिता हेर्नुपर्ने हुनसक्थ्यो। यो हिसाबले यहाँको मुद्दा अहिलेलाई शौचालयको पिंधबाट सुरु भएर नागरिकलाई शौचालय जानकै लागि भएपनि देश भित्रै दुई छाकको जोहो गर्ने महत्वाकांक्षी सहसह्राब्दी लक्ष्यित हुनुपर्ने हो। तर विडम्बना यहाँका सिनेमाको कथा हुन्छ करोडपति जोडीले स्विजरल्याण्डमा हनिमुन मनाइरहेको र राजनीतिको कथा हुन्छ जात, धर्म र क्षेत्रप्रतिको बतासे प्रेमको। बतासे बलिदानको। हुन त जहाँ सहिदको मुल्य १० लाख रूपैयाँ हुन्छ। त्यहाँ शहादत पनि एउटा रमिता नै त हुन्छ।
विश्वभरीका सानाठूला छापाका पानादेखि, टेलिभिजनका पर्दा हुँदै सामाजिक संजालसम्म पाकिस्तानी समाजको दैनिकी दुनियाँलाई रमिता भएको छ। जन्मिदैको मिति १९४७ को अगस्ट १४ देखि सुरु भएको रमिता आजसम्म नयाँ नयाँ उपकथा जोड्दै नियोजित रूपमा जारी राखिएको छ । रोटी, कपडा, मकान र शौचालयको मुद्दालाई छड्के किनारमा राखेर यो तीन चौथाइ शताब्दी उसलाई आफैंले नियोजित रुपले खडा गरेका मुद्दा स्याहार्दै ठिक्क भएको छ। उ इस्लाम धर्म सापेक्ष मुलुक हो। तर पनि उसलाई थप इस्लामिक बनाउन युद्ध छेडिएको छ। बंगालीभाषीले देश टुक्र्याएर बंगलादेश बनाई सके। बलुचहरु छुट्टै देशका निम्ति लडिरहेका छ्न्। तालिवानहरुलाई भएको सतप्रतिशत इस्लामले पुगेको छैन। त्यसैले मस्जिदहरुमा मानव बम दिनदिनै पड्किरहेको हुन्छ। वास्तवमा भोग्नेका लागि जतिसुकै कष्टकर भएपनि सुन्ने र पढ्नेहरू निम्ति यो रमिता नै लाग्छ। किनभने यो नियोजित रुपमा मञ्चन गरिएको राजनीतिक रमिता नै हो।
नरेन्द्र मोदीले स्वच्छ भारतको अभियान चलाए। शौचालय नहुने घरमा छोरी नदिने सामाजिक अभियान चलाए। छोरीको भ्रुणहत्या विरुद्ध छोरीसँग सेल्फी अभियान चलाए। आफ्ना नागरिकलाई बिजुली र पानी दिन नेपालसम्म आएर कर्णाली र पंचेश्वर फकाएर लिए। हिजोसम्म धर्म बाहेक उच्चारण नगर्ने मोदी आज सबका साथ सबका बिकास भन्ने मात्रै होइन गर्न प्रयासरत छ्न्। यो हो वास्तविक मुद्दाहरुको पहिचान गरेर राजनीतिलाई रमिता हुनबाट जोगाउनु। उनले पनि भारत हिन्दुराज्य हुनुपर्छ भन्न सक्थे। उनले पनि राजधानी दिल्लीबाट गुजरात सार्नुपर्छ भन्न सक्थे। दुईचार मस्जिद र मन्दिर भत्काउन लगाएर आफ्नो राजनीति सुदृढ गर्न सक्थे। तर उनले त्यसो गरेनन् भारतलाई विश्व महाशक्ति राष्ट्र र संयुक्त राष्ट्रसंघमा सुरक्षा परिषद्को स्थायी सदस्यता लिने महत्वाकांक्षा पालेका राजनेतालाई राम्रोसँग थाहा छ राजनीतिको रमिताकरणले वास्तविक मुद्दाहरुबाट केही क्षणलाई जनताको ध्यान हटाउन मात्रै सकिन्छ। तर अन्ततः चुकाउनु पर्ने मूल्य भयावह हुन्छ, आजको पाकिस्तानलाई जस्तै।
अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा राजनीतिको भयानकसँग रमिताकरण गरिएको छ। सबैलाई सबैथोक चाहिएको छ तर देशलाई के चाहिएको हो भनेर पहिचान गर्ने फुर्सत कसैलाई छैन । राजनीतिक नेतृत्वलाई त कहिले नि थिएन तर हिजोसम्म जनआन्दोलनमा बलिदान दिएर राष्ट्रिय राजनीतिमा हस्तक्षेप गरि गृहयुद्धको अन्त्य गर्ने विवेकशील नेपाली नागरिकहरुलाई पनि राष्ट्रिय आवश्यकताको बोध नहुनुले राजनीतिको रमिताकरण भइसकेको पुष्टि हुन्छ। हाम्रा समस्या र मुद्दा एकातिर छ्न। सडकमा नारा अर्कै लाग्छ। घरमा लोडसेडिङले रजत जयन्ती मनाएको धेरै भैइसक्यो तर सडकमा खण्ड र अखण्डको मारामार हुन्छ। तीस लाख युवा स्वदेश फर्केर बाँच्न सक्ने दिनको आशामा विदेश बसेको वर्षौं भइसक्यो सडकमा, रोजगारको के प्रबन्ध छ नयाँ संविधानमा भनेर कसैले आवाज उठाउँदैन। प्रादेशिक राजधानी सुर्खेत कि जुम्ला भनेर भाँडभैलो हुन्छ। मान्छेसम्म मारिन्छ। अहिले जनताको मनोविज्ञान यति म केन्द्रीत भएको छ। उसलाई मेरो ठाउँ, मेरो धर्म, मेरो जात, मेरो भाषा संस्कृतिभन्दा एक इन्च पर सोच्ने फुर्सद छैन। आफ्नै छिमेकी र अर्को जिल्लाको वास्ता त छैन। राष्ट्रिय मुद्दा त उसका निम्ति मंगलग्रह नै भइसकेको छ।
म र मेरो केन्द्रित सोचले पुग्ने ठाउँ भनेको पाकिस्तान अहिले पुगेको ठाँउ नै हो। के फरक पार्छ यदि संघीयता स्वीकार गरेको हो भने मेरो जिल्ला १,२,३ जुनसुकै प्रदेशमा परेपनि। के फरक पर्छ धनकुटा होस् कि फुङ्लिङ होस् कि विराटनगर होस् प्रादेशिक राजधानी? यतिन्जेल फुङ्लिङ ओरालो झर्थ्यो भने अब म उकालो चढ्छु के फरक पर्छ? के फरक पर्छ, २ नम्बर प्रदेशमा सिन्धुली र उदयपुर गाभिँदा? यो त क्षेत्रीय स्वार्थभन्दा पनि ‘माइक्रो स्वार्थ’ भएको संकिर्ण साम्प्रदायिक स्वार्थको नमुना हो। २ नम्बर क्षेत्रलाई सामर्थ्यका लागि आफ्नो देशका सबै भौगोलिक विविधता उपभोग गर्ने अधिकार अरु सबै प्रदेशलाई जति नै छ। फेरि किन मधेसमाथि यो विभेद? अनि सक्कली मनले संघीयता स्वीकार गरेको हो भने कर्णालीलाई विशेष अधिकार सहितको आफ्नै प्रदेश? के संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा पनि उ भोकै सुत्ने? उसले नुन नखाने? उसलाई चामलको भात खान दशैं आउनै पर्ने? यो कस्तो संघीयता हो? यो कागजको सुन्दर फूल जस्तो संघीयता। यसले पटक्कै सुवास छर्न सकेको छैन।
यो सबै वास्तविक मुद्दाविरुद्ध कृतिम मुद्दा खडा गरेर देशको आगनमा राजनीतिले जबर्जस्ति मञ्चन गरेको रमिता उत्कृष्ट नमुना हो। अहिले जे जति मुद्दा उठाइएका छन् ती सबै कृतिम र फेक हुन्। वास्तविक समस्या र मुद्दा अरु नै छन्। जुन उठाइएकै छैन। तर जब सिंगो राष्ट्रिय मनोविज्ञान तिहारमा देउसीको सट्टा होली खेल्छ, देख्नेलाई त्यो बडो रमिता हुन्छ। अचेल देशमा त्यही रमिता जारी छ …..।
Source : Setopati.com