–माया बिश्वकर्मा
‘शुरुमा त मेरो सासु आमाले भन्नुहुन्थ्यो । महिनावारी भएको बेलामा मेरो छोरालाई नछुनु, टाढै बस्नु, कसैलाई सुब्दैन भनेर । मैले उहाँलाई खाना बनाएर खुवाए, सगैं बसे, त्यस्तो केही भएन ।’
८ पौष २०७६ का दिन बिहान स्वास्थ्यमा केही असहज महसुस हुदै थियो । बिहानको ८ बजेपछि विस्तारै–विस्तारै पेट दुख्न शुरु भयो । म भन्सा कोठामा खाना बनाउदै थिए ।
त्यतिकैमा म महिनावारी भएको थाहा पाए । पेट दुखेर सहन गाहे भईरहेको थियो । त्यसैले कम्मरमा पच्छेउरी बाँधे ।
दराजमा सुरक्षित साथ राखेको प्याड मेरो श्रीमानलाई निकाल्न भने । अनि म प्याड बोकेर बाथरुम तिर गए । सुरक्षित साथ बाथरुमबाट प्याड लगाएर म फेरी आफनै काम भन्सा कोठातिर लागे ।
त्यस बेला मेरो पेट अरु दिनको भन्दा भिन्दै प्रकारले ज्यादै दुखी रहेको थियो । त्यसैले भान्साको काममा मेरो श्रीमानलाई सघाउन भने । दिनभरी पेट दुखेर मलाई सहन गाहे भईरहेको थियो ।
उता भोली मनाइने ख्रीष्टमस डेको तयारीमा सघाउन नपाउँदा मन आत्ति रहेको थियो । त्यतिकैमा बेलुका ६ बजे चर्चबाट बहिनीले, दिदी चर्चमा आउनु भनेर म्यासेज गर्नुभयो । मेरो मन झनै आत्तियो, तर जान सकिन ।
भोली पल्ट ९ पौष २०७६ का दिन ख्रीष्टमस डे परेको थियो । म बिहानै नुहाएर चर्च पुगे । ख्रीष्टमसको तयारीमा सबै साथीहरु जुटनुभएको थियो । अनि म पनि त्यसैमा सामेल भए ।
दिउँसो बिशेष कार्यक्रम, संगति प्रार्थना र खानाको ब्यवस्था गरेका थियौं । चर्चमा धेरै साथीभाइ, आफन्तजन पनि आउनुभएको थियो ।
हामीले आमन्त्रण गरेका पाहुना सहित हामी समेत गरी ३ सय जना भन्दा बढी एकै ठाउँमा बसेर भेला भई संगती प्रार्थना गर्यौं । ख्रीष्टमस बिशेष कार्यक्रम पछि एक आपसमा खुसी साटदै खानाको लागी एउटै मेस (लाइन) मा सहभागी भइ, खाना पनि खायौं ।
तर यहाँ कुनै भेदभाव, जातिय छुवाछुत वा अन्य कुनै पनि प्रकारको विभेद पाइन । न त कुनै रोकावट, मेरो महिनावारी भएको दोस्रो दिन थियो । म एउटा विश्वासी (इसाइ) भएकाले चर्चमा आयोजना गरिएको संगती प्रार्थनामा पनि बसे ।
चर्चका पाष्टर (गुरुबा, गुरुआमा), अगुवा, विश्वासी, साथीभाई कसैले पनि संगती प्रार्थनामा बस्न र चर्च भित्र प्रवेश गर्न कुनै रोकावट गर्नुभएन ।
खुसी, हर्ष शान्ति र आनन्द मनका साथ त्यो दिनको सबै काम सकेर म घर फर्के । महिनावारी भएको बेला म चर्च गएको यो नै पहिलो भने थिएन । सरसफाईमा ध्यान महिनावारी भएको बेला धेरै नै दिनुपर्छ ।
त्यसकारण म चर्चबाट फर्कन साथ फेरी आफनो शरीरको सरसफाईमा लागे । म महिनावारी भएको बेला आफै खाना बनाउँछु । घरको सबै काम गर्छु । चर्च जान्छु । कार्यालय जान्छु । र नसक्ने अवस्थामा श्रीमानलाई सघाउन भन्छु । मेरो घरमा महिनावारी भएको बेला कुनै प्रकारको भेदभाव हुदैन । र छैन पनि ।
जब म सानो थिए, मेरो माइती घरमा त्यति बेला महिनावारी वार्ने चलन थियो, त्यो बेला पनि मैले लगभग दुई, तीन पटक महिनावारी भएको कुरा लुकाए । कसैलाई थाहा दिइन । घरको सबै काम गर्थे । स्कुल पनि गए । तर एक दिन बहिनीले थाहा पाएपछि आमालाई भनिदिइन । अनि घरका सबैजनाले थाहा पाउनुभयो । महिनावारी बार्न भन्नुभयो ।
त्यो बेला मलाई धेरै दुख लाग्यो । रुन्थे पनि । मेरो महिनावारी भएको समयमा घरमा हजुरआमा आउनु भयो, र भन्नुभयो । यो बेलामा त किताब पनि छुनु हुदैन । मैले त्यो कुरा सुने । मनमा धेरै कुरा सोचे । अच्चम्म लाग्यो, तर पनि किताब पढन छोडिन । किनकी मेरो परिक्षा चलिरहेको थियो ।
महिनावारी भएको बेलामा किताब छुनु हुदैन भन्ने हजुरआमाको कुरा विश्वासै लागेन । त्यो बेला मैले महिनावारी बार्ने गरेता पनि म घरमा कोही नभएको बेलामा भान्सामा लुकी–लुकी पस्थे । साथीहरुले भन्ने गर्थे, महिनावारी भएको बेलामा काम गर्नु पर्देन । राम्रो लाग्छ, तर म मन मनै सोच्थे ।
मलाई अरुले बाहिर बसाएर अरुले टाढैबाट खाना दिनु भन्दा म जति धेरै काम गर्नु परे पनि गर्छु भन्ने लाग्यो । यो नराम्रो ब्यवहार, कुसंस्कार मलाई सानैदेखी मन परदैनथ्यो । त्यो बेला मेरो बुवा पनि सानोतिनो धामी (झारफुक) गर्ने काम गर्नुहुन्थ्यो ।
मैले बुवालाई धेरै पटक छुन्थे तर केही हुदैनथ्यो । त्यसैले महिनावारी वार्ने कुरामा मलाई विश्वास लाग्दैनथ्यो ।
किनकी महिनावारी एउटा प्राकृतिक प्रक्रिया थियो, र हो पनि । मेरो उमेर बढदै गयो, केही बर्षपछि मैले सुसमाचार सुने । अनि प्रभु येशु ख्रीष्ट माथी विश्वास गरे ।
जुन दिनदेखी मैले प्रभु येशु ख्रीष्टलाई चिन्ने मौका पाए, त्यसपछि महिनावारी मात्र होइन, अरु धेरै कुसंस्कार र कुरिति, अन्धविश्वासहरुलाई पुरै छोडि दिए । मैले यही कुरा मेरो परिवार र श्रीमानलाई राम्री बुझाए ।
शुरुमा त मेरो सासु आमाले भन्नुहुन्थ्यो । महिनावारी भएको बेलामा मेरो छोरालाई नछुनु, टाढै बस्नु, कसैलाई सुब्दैन भनेर । मैले उहाँलाई खाना बनाएर खुवाए, सगैं बसे, त्यस्तो केही भएन । मैले कुनै समस्या भोग्नु परेको छैन ।
तर महिनावारी भएको बेलामा म जस्ता धेरै दिदीबहिनीहरुले दुख पाएको, छाउगोठमै सर्पले डसेर, निस्सासिएर मृत्य्ुभएको कुरा सुन्छु । मलाई धेरै दुख लाग्छ । पुरानो चलन अनुसार महिनावारी भएका दिदीबहिनीहरुले भान्सा कोठा, मन्दिर, पुजा कोठामा पस्नु हुदैन । भनिन्छ ।
विद्यालय जान हुदैन, धारा पनि छुनु हुदैन । आफनो बुवा, दाजु भाइलाई त झन हेर्नु पनि हुदैन भन्ने जस्ता थुप्रै रुढिवादी चलन थियो । किनकी पहिले यस्तो बेलामा सफा सँग बस्न मिल्ने खालका सामानहरु थिएन्न ।
शिक्षा, ज्ञानको कमी धेरै थियो । तर अब त महिनावारीमा पनि सफा रहन सकिन्छ, सगँसगैं हामीले आफनो विचार र ब्यवहारमा परिवर्तन ल्याउनु पर्छ । यस्तो बेलामा आराम गर्नुपर्छ ।
महिनावारी भएका बेला तातो झोलिलो खानेकुरा खानु पर्छ, र दिनुपर्छ । महिनावारी भएको बेलामा आफनो शरीरको राम्रो सँग हेरचाह गर्नुपर्छ ।
प्रत्येक ४–४ घण्टामा प्याड बद्ल्नु पर्छ । अर्थत कपडा राखेको छ भने पनि रगतले भिजेको कपडालाई सफा पानीमा राम्रो सँग साबुनपानीले धोएर घाममा सुकाउनुपर्छ । कपडालाई घाममा सुकाउँदा किटाणुहरु मर्छन, र सुकेपछि फेरी त्यसलाई प्रयोग गर्न सकिन्छ । यसो गर्दा चिलाउने वा संक्रमण हुनबाट बच्न सकिन्छ ।
महिनावारी हुनु भनेको उमेरको शारीरिक विकास र स्वास्थ्य अवस्था राम्रो रहेको सूचक पनि हो । यो कुनै अपवित्र कुरा हैन । प्रकृतिले हामी छोरी मान्छेलाई सन्तान उत्पादन गर्न सक्ने चमत्कारिक शक्ति दिएको छ ।
महिनावारी पनि त्यही प्रजन्न प्रक्रिया सँग सम्बन्धित छ । त्यसैले यो कुनै लाज, घिन, घृणा वा भेदभावको बिषय हैन, र बनाउनु पनि हुदैन । यसलाई शारिरीक विकास र सामान्य प्राकृतिक प्रक्रियाको रुपमा लिनु पर्दछ ।
साधारणतः १२–१४ बर्ष उमेर पुगेपछि महिनावारी शुरु हुन्छ । ४०–४५ बर्ष उमेर पछि त्यो प्रक्रिया बन्द हुन्छ । कुनै पनि महिलाको यो प्रक्रिया चल्दा सम्म उनी बच्च जन्माउन सक्षम हुन्छीन ।
उमेर, खानपान लगायतका विभिन्न कुराले गर्दा पनि मासिक महिनावारी तालिकामा पनि फरक–फरक हुन सक्छ । महिनावारी भएका बखत हामी छोरी मान्छेको शरीरबाट प्रत्येक महिना ५–७ दिन सम्म योनीबाट सिमित मात्रामा रगत निस्कन्छ ।
यस अवस्थामा किशोरी तथा महिलाहरुले बिशेष ध्यान दिनुपर्छ । आफुलाई परेको समस्या आमा, साथी अथवा अन्य कुरा बुझ्ने ब्यक्तिसँग राख्नु पर्छ ।
महिला बिना असल घरपरिवार र समाजको परिकल्पना पनि गर्न सकिन्न । त्यसकारण हेला, छि–छि, दुर्रब्यवहार भन्दा पनि महिनावारी भएका बेला सहयोग गर्नुपर्छ ।
–लेखक स्टाप नर्स हुनुहुन्छ ।
गुडन्यूज साप्ताहिक पत्रिकाबाट