अष्ट्रेलियाका ९९ नम्बरका धनीका रुपमा शेष घलेले आफ्नो ब्यवसायिककुशलता सवर्त्र देखाइसकेका छन् । तर, घले धनका मात्र होइन, मनका पनि धनी हुन् भन्ने पछिल्ला दुई वर्षमा उनले नेपाली समुदायलाई गरिरहेको सेवाबाट प्रष्ट हुन्छ । नेपालको निजी क्षेत्रको सवैभन्दा ठूलो अर्थात् एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गरेर समाजसेवामा समर्पित भएका घले पछिल्ला दुई वर्ष गैरआवासीय नेपाली संघको अध्यक्षका रुपमा बिदेशमा वस्ने नेपालीहरुलाई नेतृत्व दिइरहेका छन् ।
महाभूकम्पका बेला एनआरएन समुदायलाई कुशलतापूर्वक परिचालन गरी तत्काल गाउँसम्म राहत पुर्याउन खटिएर घलेले झनै वाहवाही पाए । उनको कामबाट प्रभावित भएर सरकारले पुनःनिर्माणका लागि बिदेशी सहयोग जुटाउन विशेष दूत नै नियुक्त गर्यो ।
यतिबेला उनै घले भूकम्पपीडितलाई राहत बाँड्न समर्पित गैरआवासीय समुदायलाई सम्मान गर्न र केही मुलुकमा गैरआवासीय संघको अधिवेशनमा सहभागी हुन बिभिन्न मुलुकको भ्रमणमा छन् । युरोपेली मुलुकको भ्रमण सकेर कतारको अधिवेशनमा भाग लिएका घलेसँग अनलाइनखबरका कतार सम्बाददाता घनश्याम पराजुलीले गरेको कुराकानीको सारसंक्षेपः
गैरआवासीय नेपाली संघको विश्व सम्मेलन आउँन दुई महिना पनि बाँकी छैन । केहीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिकेका छन् । पुनः नेतृत्व लिन तपाईमाथि तीब्र दबाब पनि परिरहेको छ । एनआरएन हाँक्न पुगेको हो ?
म पाँच दिनमा यूरोपका ६ देश पुगें । मलाई साथीहरुले मञ्चबाट एकै आवाजमा नेतृत्व दोहोर्याउन अनुरोध गरिराख्नु भएको थियो । म बार्सिलोना पुग्दा सबैले पटक-पटक आजै उम्मेदवारी घोषणा गर्नुपर्यो भन्नुभयो । मलाई निकै गाह्रो भयो । मैले उहाँहरुलाई भने कि, म गम्भिरताका साथ सोच्छु र निर्णय लिन्छु । त्यो अवस्था कतारमा पनि देखियो ।
वास्तवमा मैले दिन गनिरहेको छु । अव ६० दिन बाँकी छ । प्रत्येक दिन मेरो काम बढ्दो छ । लक्ष्यका अगाडि बढिरहेको छु । दुईवर्षको अन्तिम अवस्थामा हाम्रो रणनीति र प्रतिबद्धता अनुरुपको प्रगतिका लागि धेरै जिम्मेवारी छन् । त्यसैमा ध्यान केन्द्रित गरेको छु । भूकम्पबाट ध्वस्त संरचनाको पुनर्निर्माण, बैदेशिक रोजगार कल्याणकारी कोष र विश्व सम्मेलनको तयारीका कामहरु बाँकी नै छन् ।
मैले अहिले नै घोषणा गर्दा हामी फेरि चुनावी प्रक्रियातिर मोडिन्छौं । त्यसैले हामी जिम्मेवारी लिएका व्यक्तिहरुले अहिले नै उम्मेदवारी घोषणा गरेर अगाडी बढ्नु उचित हुन्छ जस्तो लाग्दैन ।
अर्को कुरा, थप एक कार्यकालका लागि म अगाडि बढ्ने कि नबढ्ने भन्नेबारे अहिले नै निर्णय गरिसकेको छैन । मेरो ब्यापार ब्यवसायको अवस्था, परोपकारी कोष लगायतका अन्य कामका विषयमा पनि मैले सोच्नुपर्छ । अर्कोतर्फ मैले साथीहरुको चाहनालाई पनि सम्मान गर्नुपर्ने हुन्छ । त्यसैले मैले सोचेर मात्र निर्णय गर्नेछु । समय अझै बाँकी छ ।
धेरैको अनुमान चाहिँ तपाईँले सहमतिमा दोस्रोे पटक एनआरएनको नेतृत्व लिँदै हुनुहुन्छ । चुनावी प्रक्रियामा जाँदा नलड्ने तपाईँको योजना हो ?
त्यो अर्धसत्य हो, किनकी यो कसैको अनुमान मात्र हो । तर म सहमति भयो भने मात्र नत्र चुनाव लड्दिन भन्ने मेरो मान्यताविपरितको कुरा हो । म लोकतान्त्रिक पद्धतिलाई मान्ने मान्छे हुँ । त्यही प्रक्रियाबाटै यहाँ आएको हुँ । भोलि मैले अगाडि बढ्छु भनेर निर्णय गरें भने चुनाव लडेरै वा सहमति जुन प्रक्रियाबाट पनि अगाडी बढ्न तयार हुन्छु । तर, मुख्य कुरा के हो भने मैले अगाडि बढ्ने कि नबढ्ने भन्ने निर्णय गरिसकेको छैन । १० जना नै नेतृत्वमा आउन चाहे पनि त्यो चाहनालाई रोक्न मिल्दैन । उहाँहरुको व्यक्तिगत अधिकारको कुरा हो । नेतृत्व लिन अग्रसर भए पनि चुनावदेखि भाग्नु पनि हुँदैन ।
तपाईले दुई वर्ष संस्थाको नेतृत्व गर्नुभयो । तपाईको अनुभवमा गैरआवासीय नेपाली संघको नेतृत्व कस्तो हुनुपर्ने रहेछ ? के-के गुण वा क्षमता भयो भने यति ठूलो संस्थालाई हाँक्न सकिने रहेछ ?
मैले बारम्बार भनिरहेको छु कि नेतृत्वमा सबैभन्दा पहिले इमान्दारिता र निष्ठा हुनुपर्छ । नेतृत्वमा बसेर आफ्नो व्यक्तिगत स्वार्थ मात्रै पूरा गर्ने नियत राख्नु भएन । जिम्मेवारीलाई स्यंमसेवकको रुपमा हेर्नुपर्छ । आफूले पनि जिम्मेवारीबोध गर्नुपर्यो । नेतृत्व नै संस्थाको अनुहार हुने भएकाले व्यक्तिगत स्वार्थका लागि संस्थालाई दुरुपयोग नगर्ने सुनिश्चितता हुनुपर्छ । नेतृत्व लिईसकेपछि विगतका उपलब्धिलाई गौरव मानेर नभई अगाडि आएका अथाह सम्भावना र विशाल चुनौतीलाई बुद्धिमतापूर्ण ढंगले सामना गर्न सक्नुपर्छ ।
तपाई आफैले चाहिँ आफ्नो दुई वर्षे कार्यकालको मुल्याङ्कन चाँही कसरी गर्नु भएको छ ? अब्बल, मध्यम वा अरु कुनै ?
म आफैले आफ्नो मूल्याङकन गर्दा न्यायोचित नहोला । म त आफ्ना सारा ब्यवसायिक जिम्मेवारीलाई एकातिर पन्छाएर पूर्णकालिन अध्यक्षका रुपमा काम गरिरहेको छु । अझै दुई महिना यहि गतिमा काम गर्छु । मैले कसरी काम गरिरहेको छु भनेर मूल्याङ्कन गर्ने जिम्मेवारी सम्पूर्ण गैरआवासीय नेपाली र नेपालमा रहनुभएका नेपाली समुदायलाई छ । यो जिम्मेवारी म उहाँलाई नै दिन चाहन्छु । म यति भन्न चाहन्छु कि, धेरै सीमितता र अप्ठ्यारो परिस्थितिकाबीच पनि मैले निष्ठापूर्वक अधिकतम नतिजा दिन कोशिस गरिरहेको छु ।
एनआरएनको संजालमा आबद्ध भएका वा नभएका जे भए पनि एनआरएन अब बिदेश बस्ने नेपालीहरुको साझा र भरोसायोग्य संस्था बन्न थालेको मैले महसुस गरेको छु ।
एनआरएनएले खाडी क्षेत्रका मजदुरहरुलाई हेरन भन्ने आरोप सधै लाग्ने गरेको छ । तपाईले आफ्नो कार्यकालमा यो आरोप मेट्न के कस्तो कोशिश गर्नुभयो ?
गैरआवासीय नेपाली संघले पहिलेदेखि नै यो क्षेत्रका मुद्दाबारे निरन्तर आवाज उठाइरहेको थियो । मेरो कुरा गर्नुहुन्छ भने म गैरआवासीय नेपाली संघको नेतृत्वमा जान इच्छा गर्नुको प्रमुख कारण नै यो क्षेत्रको समस्याले मलाई दिएको पीडा र त्यसलाई समाधान गर्ने उत्कट चाहना नै हो । स्कूल जानुपर्ने उमेरका नेपाली युवाहरु विमानस्थलमा लाइन बसेको देख्दा म कैयौं रात निदाउन सकेको छैन ।
त्यसैले मेरो कार्यकालमा अन्तराष्ट्रिय संघसंस्थाहरु र सरकारसँग सहकार्य गरेर स्थायी समस्या समाधानका लागि कोशिस गरेका छौं । बैदेशिक रोजगार कल्याणकारी कोष खडा गर्नेदेखि लिएर बैदेशिक रोजगार सूचना केन्द्र स्थापना र नेपाल फर्किएकाहरुलाई उद्यमशील बनाउन पनि हामीले संरचना तयार पारेका छौं । यो क्षेत्रका नेपालीका समस्या कम गर्न मेरो समय र सीप खर्चिरहेछु । केही प्रक्रियामा छन्, नतिजा आउन बाँकी नै छ । यो आरोप मेट्नका लागि धैर काम गर्न बाँकी नै छ । दुई वर्षको कार्यकालमा कतार दुई पटक र अफ्रिका पटक-पटक भ्रमण गरेको छु । हाम्रो स्रोतसाधनको सीमितताका कारण चाहेर पनि धेरै गर्न सक्ने अवस्था छैन । त्यसैले बहुपक्षीय प्रयास र स्रोत साधनको उपयोग गर्ने विधिमा हामीले जोड दिएका छौं । दुबईमा अनिस खालिङ्ग र साउदीमा रामकुमारलाई उद्धारका लागि आफै लविङ्ग गरेको थिएँ । यस्ता उदाहरणहरु प्रशस्त छन् । तर, धेरै गर्न बाँकी नै छ ।
तपाई आफै पनि पटक-पटक कतार आइसक्नुभएको छ । कतारमा कामदारका समस्याहरुलाई कसरी हेर्नुभएको छ ?
कतारमा विभिन्न खाले समस्याहरु छन् । विभिन्न देशमा अलग-अलग समस्याहरु छन् । खाडी मुलुकमा प्रायः एकै किसिमका समस्याहरु देखिने गर्छन । जस्तै, कुबेत र साउदीमा घरेलु कामदारका समस्या छन् । तोकिएको काम र तलव नपाउने, अलपत्र पर्ने, इन्सुरेन्स नहुने, बिरामी, घाइते र मत्युका घटनाका कारण पनि यहाँ धेरै समस्या भइरहेको पाएको छु । केही विषयमा एनआरएन एनसीसीले पनि अग्रसरता लिइरहेको छ, केही विषयमा हामी सरकारलाई घच्घचाइरहेका छौं भने केही कुरा हाम्रो नियन्त्रणमा छैनन्, त्यसलाई सरकारले नै पहल गर्नुपर्छ ।
गैरआवासीय नेपाली संघको खाडी क्षेत्रमा भएका एनसीसीहरुमा मेनपावर व्यवसायमा संग्लन मानिसहरु छन्, जसले गर्दा पनि श्रमिकका हितमा उनीहरुले ध्यान दिदैनन्, उनीहरु नै नेता भएका कारण वास्तविक पीडितहरु बाेल्न सक्दैनन् भन्ने कटु सत्य स्वीकार्नु हुन्छ ?
यहाँ आउने कामदारहरु गाउँबाट नै एजेन्टको भरमा आउँछन् । हाम्रै साथीहरु पनि मेनपावर व्यवसायमा लागेका छन् भन्ने कुरा सुनिन्छन् । व्यवसाय गर्नु नराम्रो होइन तर, यसलाई विश्वसनीय र मर्यादित रुपमा संचालन गर्नुपर्यो । आफू नेतृत्वमा भएपछि व्यक्तिगत फाईदामा लाग्नु भएन । जहाँसम्म वास्तविक पीडित बोल्न नसक्ने कुरा छ, त्यो सुनेकै भरमा केही गर्न सकिदैन । हामीकहाँ सिधै समस्या लिएर आउनुपर्यो । हामी त्यो हेर्छौ । समस्यालाई नियाल्छौ र सुल्झाउने कोशिस गर्छौ । यदि एनआरएन अभियानकै नेतृत्वकर्ताहरुबाट त्यस्ता ठगीका घटना भएका छन् भने हामी कारबाही गर्न तयार छौं । हामीलाई यथार्थ कुरा चाहिएको छ । त्यसैले म कतारबासी नेपाली श्रमिक साथीहरुलाई के भन्न चाहन्छु भने एनआरएनए सबैको साझा हो, यो तपाईको पनि हो, तपाईंलाई परेका दुःख एनसीसीमार्फत वा सोझै आईसीसीमा पनि सुनाउन सक्नुहुन्छ । त्यसैले बिनाहिच्किचाहट भनिदिनुस् भन्ने आग्रह गर्दछु ।
पंजिकृत सदस्य र महाधिवेशन प्रतिनिधिका लागि शुल्क बढाएको भनेर पनि आलोचना भईरहेको छ । किन बढाउनुपरेको हो शुल्क ?
यो स्थापनाकालदेखिको शुल्क हो । ग्लोबल सम्मेलन संचालनका लागि पनि हामीलाई पछिल्लो समय खर्च धेरै चाहिने गरेको छ, हामीले सरकारबाट लिने गरेको रकम पनि लिन छाडेका छौं । त्यसैले अब सदस्यता शुल्क बढाउनुपर्छ भनेर बार्डले नै बढाउने निर्णय गरेको हो । खाडी क्षेत्रबाट शुल्क बृद्धि नगर्न केही सुझावहरु आएपछि त्यसबारे के गर्न सकिन्छ भनेर कोषाध्यक्षलाई जिम्मा दिइएको छ । यी देशहरुमा साह्रै नै गाह्रो छ भने हामी विचार गर्न सक्छौ । संस्थामा आउनका लागि प्रोत्साहन गराउँछौ । दुई वर्षका लागि पाँच डलर आईसीसीले लगाएको छ, एनसीसीको आफ्नै शुल्क हुन्छ । अप्ठ्यारो नै परेको हो भने शुल्क नै नलिन पनि तयार छौं तर, शुल्क केवल शुल्कको मात्र कुरा होइन, संस्थाको दीगोपन, स्थायित्व र एउटा प्रणालीको कुरा पनि हो ।
यसपटक तपाईहरुको पंजिकृत सदस्य झण्डै दोब्बर पुग्दैछ भन्ने सुनिएको छ । कस्तो रिपोर्ट आईरहेको छ ? एनआरएन कति विस्तार भईरहेको छ ?
हामीले पछिल्ला वर्षहरुमा जसरी काम गरेका छौं त्यसबाट बिदेशमा बस्ने नेपालीहरुको गैरआवासीय नेपालीप्रति विश्वास र भरोसा बढेको भन्ने फिडब्याक पाइरहेको छु । जसरी विश्वभर एनआरएनको सदस्यता तीब्ररुपमा बृद्धि भइरहेको त्यसले पनि यो कुरालाई पुष्टि गर्छ । एउटा सानो उदाहरण सुनाउँ- फ्रान्समा लामो समयदेखि बस्दै आएकी एकजना महिलाले एनआरएनप्रति आलोचनात्मक दृष्टिकोण राख्नुहुँदो रहेछ । म त्यहाँ पुग्दा उहाँ मलाई भेट्न आउनु भयो । भूकम्पपीडितको सहयोगमा हामीले गरेको कामबाट उहाँ प्रभावित हुनुभएको रहेछ । उहाँले भन्नुभयो- अब मलाई विश्वास जाग्यो, तपाईहरुको सदस्य बन्छु ।
युरोपभरी नै मैले बदलिएको दृष्टिकोणको अनुभव गर्न पाएँ । एक वर्ष अगाडिसम्म पनि अमेरिकामा गैरआवासीय नेपाली संघ कमजोर अवस्थामा थियो, सदस्यता संख्या करिव एक हजार ५ सय मात्र थियो । भवन निर्माणका लागि म त्यहाँ पुग्दा मैले के भनेको थिएँ भने तपाईहरु सक्रिय नहुँदा गैरआवासीय नेपाली संघ अधुरो/अपुरो भयो, तर तपाईहरुले सदस्यता लिनुस् भनेर आग्रह गर्दिन, बिश्वास लाग्यो भने आफै आउनुहोला भन्ने हो ।
नभन्दै अहिले अमेरिकामा १२ हजार सदस्य पुगे । यस्तो संख्या हजारौं होइन लाखौं पुग्नुपर्छ भन्ने मेरो मान्यता छ र त्यसमा म बिश्वस्त पनि छु । भूकम्पपीडितलाई राहतका लागि रकम संकलन गर्ने अभियानमा केवल गैरआवासीय नेपाली संघका समितिहरु मात्र सक्रिय थिएनन्, नेपाली समुदायमा सक्रिय अरु धेरै संस्थाले आफूले संकलन गरेको रकम एनआरएनप्रति बिश्वास देखाउँदै एनआरएनलाई हस्तान्तरण गरे र फलस्वरुप हामी ३० करोड रुपैयाँ उठाउन सफल भयौं । त्यसैले एनआरएनको संजालमा आबद्ध भएका वा नभएका जे भए पनि एनआरएन अब बिदेश बस्ने नेपालीहरुको साझा र भरोसायोग्य संस्था बन्न थालेको मैले महसुस गरेको छु ।
आफ्नो कार्यकालमा गैरआवासीय नेपाली संघलाई तपाईले निकै उचाईमा पुर्याउनुभयो । तर, भवन निर्माण, कल्याणकारी कोषको कार्यान्वयन र पुनःनिर्माण अभियानजस्ता काम बाँकी नै छन् । यी काम आफैले पूरा गर्ने योजनामा हुनुहुन्छ की, कोही उत्तराधिकारी देखिरहनुभएको छ ?
कुनै नेतृत्वले अर्को कसैलाई उत्तराधिकारी बनाउने कुरासँग मेरो सहमति छैन् । नेतृत्व विकाशका लागि अध्यक्षले सहयोग गर्ने हो, म यसलाई नेतृत्व सुम्पेर जान्छु भन्नु लोकतान्त्रिक बिधि होइन । जसले आफ्नो नेतृत्व क्षमता प्रर्दशन गर्छ, आशा र बिश्वास जगाउन सक्छ, उसैले प्रतिष्पर्धामा उत्रिएर नेतृत्व लिने हो ।
बाँकी कामको कुरा गर्नुभयो, त्यसमध्ये भवन निर्माणको सवैभन्दा चुनौतीपूर्ण काम सकिएको छ । अधिकांश रकम उठिसकेको छ, हामीले जग्गा पनि किनिसक्यौं । प्रतिबद्धता गरेको बाँकी रकम उठाएपछि तुरुन्तै भवन सिलान्यास हुन सक्छ । पाँच करोडमा पनि भवन बन्न सक्थ्यो तर हाम्रो चाहाना बढी भयो । १३ करोडको जग्गा मात्र लियौं ।
कल्याणकारी कोषको स्थापना पनि हुँदैछ । मेरो चाहाना कोषको आकार ठूलो होस् भन्ने हो ताकी सहज रुपमा सहयोग गर्न सकियोस् । मैले एक करोड सहयोग गरेँ, त्यतिले त चल्दैन । कम्तीमा १० करोड पुर्याउनुपर्छ । भूकम्प नआएको भए यो काम पुरा भईसक्थ्यो । भूकम्पपछि थोरै मोडिएको मात्र हो यो अवश्य छिट्टै पुरा हुनेछ । खुल्ला विश्वविद्यालयको काम पनि भईसकेको छ । नागरिकताको कुरामा हामीले लगभग सफलता पाइसक्यौं । यी बाहेक धेरै कामहरु हामीले गरिसकेका छौं त्यो विश्व सम्मेलनमा प्रस्तुत हुने नै छ । तथापि धेरै काम अझै बाँकी नै छन् । पुनर्निर्माणका लागि देशले हामीप्रति धेरै आशा गरेको छ ।
हो, हामीले नगरे कसैले गर्न सक्दैन । हाम्रो क्षमता पनि अब निकै ठूलो भएको छ, एकताबद्ध भएर अगाडि बढ्यौं भने एक हजार घर होइन धेरै हजार घर निर्माण गर्न सक्छौं । हामी साच्चिँकै पुनर्निर्माणको साझेदार बन्न सक्छौं । तर, यो काम निकै चुनौतीपूर्ण छ । बुद्धिमतापूर्वक गरिएन भने हामी निकै कमजोर पनि हुनसक्छौं । बिश्वभरका नेपालीहरुले यसको अपनत्व लिएर गम्भीरपूर्वक कदम चाल्नुपर्छ ।
अन्तमा, तपाईको भ्रमणको उद्देश्य के हो ?
मेरो भ्रमणको उद्देेश्य भूकम्पपीडितको सहयोग गर्ने सबैलाई सम्मान गर्ने थियो । संयोगबस कतारको छैठौ राष्ट्रिय महाधिवेशन पर्यो । मैले कोशेली लिएर आएको हुँ । त्यहाँ नेपालीहरुको भावना कोरिएको छ । यो मबाट मात्र आएको होइन यो त गाउँगाउँका दिदीबहिनी दाजुभाइबाट आएको हो, जसलाई दुःखको बेला हामीले कोशेली पुर्यायौं, थोरै भए पनि राहत उपलब्ध गरायौं । म पहिला कम्बल बोकेर गएँ आज त्यहाँको भावनाको व्याग डोर्याउँदै सबै समक्ष पुगिरहेको छु । यो सामान्य खादामा कैयौ नेपालीहरुको भावना छ । उहाँहरुको माध्यम बन्दै म भ्रमण गरिरहेको छु ।
Source : Onlinekhabar.com