केही दिन अघि फेसबुकमा लेखेको थिए “आ-आफ्नो धर्म मान्ने स्वतन्त्रता सबै नेपालीलाई हुन्छ । राज्यले कुनै पनि धर्म वा धार्मिक सम्प्रदायबीच भेदभाव गर्नु हुदैन । राज्य धर्मनिरपेक्ष हुन्छ । आ-आफ्नो आस्था अनुसारको धर्म मान्न वा परिवर्तन गर्न पाउनु आफ्नो स्वतन्त्रता हो । तर धर्म परिवर्तन गराउन भने पाइने छैन। कानुन बनाएर धर्म परिवर्तन गराउने कार्यलाई दण्डनीय बनाउनु पर्छ ।”
म धर्मलाई मानवीय र सामाजिक कोणबाट हेर्छु। यसरी हेर्दा म सबै धर्म बराबर देख्छु । एउटा धर्म अर्को धर्मभन्दा राम्रो वा नराम्रो हुन्छ भन्ने विश्वास गर्दिन। धर्म छान्न पाउनु, परिवर्तन गर्न पाउनु मानिसहरूको नैसर्गिक अधिकार हो। धर्म परिवर्तन गराउनु भने गलत हो। तिम्रो धर्मभन्दा मेरो धर्म राम्रो, मेरो धर्म मान्यौं भने तिमीले दुःखबाट मुक्ति पाउँछौं भन्नु असहिष्णुता र संकीर्णता कै अर्को पाटो हो। त्यसरी नै, हिन्दु धर्म स्वदेशी धर्म र नेपालमै मानिने अरू धर्म विदेशी भन्नु संकीर्ण मान्यता हो। हिन्दु धर्म मात्र नेपाली धर्म हो भन्ने हो भने भारत र विश्वका अरू मुलुकमा बसेका हिन्दुहरूले मान्ने धर्म कुन देशको हो? कि उनीहरूले विदेशी धर्मको पालना गरेको हुन त ? कि संसारमा हिन्दुजती सब नेपाली हुन् ?
भक्तपुर क्षेत्र न १ मा भएको सुझाब संकलनमा पनि मैले जनताको धर्ममा स्वतन्त्रता हुनुपर्छ अनि राज्यमा धर्म निरपेक्ष हुनुपर्छ भने सुझाब देको थिए। धर्मनिरपेक्षताको सामान्य र स्पष्ट अर्थ हो धर्मबारे राज्य निरपेक्ष अर्थात तटस्थ रहनु । यसको मतलब सबै धर्मलाई समान ठान्नु हो, कुनै धर्मविशेषलाई धेरै महत्व दिने तर अरू धर्मलाई मान्यता नदिने गर्नु हैन । नेपाली बृहत् शब्दकोषअनुसार धर्मनिरपेक्षताको अर्थ हुन्छ— कुनै एउटा धर्मलाई मात्र मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने तथा धर्मका मामलामा कुनै हस्तक्षेप नगर्ने र संविधानमा कुनै धर्मको आड नलिने (राज्य, समाज) ।
आजकाल धर्मको नारा लाउने साथीहरुले के बुझ्न जरुरि छ भने धर्मनिरपेक्षता भनेको धर्मबारे निरपेक्षता वा तटस्थता होे, धर्मको विरोध, निन्दा, अपमान, अस्वीकार वा निषेध हैन । यसमा कुनै धर्मलाई प्रतिबन्ध लगाउने कुरा त झन् हुँदै हैन । धर्मनिरपेक्षता कुनै संस्था वा निकायसँग सरोकार राख्ने विषय हो । यसको कुनै पनि व्यक्तिविशेषसँग सरोकार हुँदैन । यस्तो किन पनि हो भने कुनै संस्थामा थुप्रै व्यक्ति हुन्छन् र ती एउटै धर्म मान्ने वा विविध ध मान्ने पनि हुनसक्छन् । जबकि व्यक्तिमा त एउटा व्यक्ति मात्रै हुने भैहाल्यो र व्यक्ति बहुधार्मिक हुँदैन । नेपाली शब्दकोषमा भनिएझै राज्य वा देश वा सरकार वा समाज वा कुनै संस्था आदि नै धर्मनिरपेक्ष हुन्छन्, व्यक्तिविशेषलाई धर्मनिरपेक्ष बनाउन वा बन् भन्न मिल्दैन ।जहाँसम्म धार्मिक स्वतन्त्रताको कुरा छ, त्योचाहिँ व्यक्तिमा लागू हुन्छ । धार्मिक स्वतन्त्रताअन्तर्गत मान्छेलाई कुनै पनि धर्म मान्ने वा मान्दै आएको कुनै पनि धर्म परित्याग गर्ने स्वतन्त्रता हुन्छ ।कुनै पनि धर्म नमान्ने अधिकार पनि व्यक्तिलाई हुन्छ ।
फेसबुकमा सो स्टाटस पछि केहि साथीले भनुपनि भो, यत्रो हिन्दु भाको देशलाई हिन्दू राज्य भन्दा के फरक पर्छ ? अरू धर्मावलम्बीले आ–आफ्नो धर्म मान्न पाएकै छन् के रे हामीले उनीहरुलाई तिमीहरुको धर्म नमान भनेका पनि छैनौ । यस्तो प्रश्नको उस्तै जबाफ पनि दिनासकिन्छा— धर्मनिरपेक्ष घोषणा गर्दा के फरक पर्छ त ? सबैले आ–आफ्नो धर्म मान्न पाइहाल्छन् । तर कुरो त्यसो हैन । हिन्दू राज्य घोषणा गर्दा धेरै फरक पर्छ, परेको छ । मुुुुुलुकका सबै नियम–कानुन तथा राज्यका परम्परा तथा विधि सबै सोहीअनुसार बनाइन्छन्, बनेका छन् । यसरी फरक पर्ने पक्ष हुन्— हिन्दूहरूको चाड दशैंलाई राष्ट्रिय पर्वको घोषणा, दशैंमा कर्मचारीलाई दशैं खर्च दिने चलन, अरू हिन्दू चाडपर्वमा पनि विदा दिने चलन, गैर–हिन्दूहरूले भने अनेकौं सांस्कृतिक, सामाजिक, व्यावहारिक र मनोवैज्ञानिक समस्या र पीडा झेल्नुपर्ने हुन्छ । एकदमै हास्यास्पद र विरोधाभासपूर्ण कुरा त के छ भने २०६३ सालको अन्तरिम संविधानले नेपाललाई धर्मनिरपेक्ष घोषणा गरिसक्दा पनि हिन्दू राज्यका कतिपय ऐन–कानुन जीवितै छन् र तिनैअनुसार कारबाही भइरहेका पनि छन् कुनै एउटा धर्म वा हिन्दु धर्मलाई राज्यको धर्म बनाउँदा अन्य धर्मावलम्बी असन्तुष्ट भई देशमा धार्मिक द्वन्द्वको स्थिति उत्पन्न हुन सक्छ। त्यसबाट राष्ट्रिय एकता र सद्भाव मात्र खल्बलिने छैन, राजतन्त्र र त्यसको निरंकुश शासनको पुनस्र्थापनाका लागिसमेत बल पुग्नेछ।