भाषा कुनै पनि जाती विशेषलाई जनाउने र बोल्न प्रयोग गरिने संकेत आवाज हो । यो जाती अनुशार फरक–फरक हुने गरेको छ । एक जातीको भाषा अर्को जातीले नबुझ्ने खालको पनि हुन्छ । भाषा मानिसको मात्र नभएर जनावर र पंक्षीहरुका पनि हुन्छन् । तर उनीहरुको भाषा हामी बुझ्न सक्दैनौं । जे भए पनि भाषा सबैका हुन्छन् नै । बोलिने भाषा र लेखाईको भाषामा धेरै फरक पनि हुन्छ ।
बोल्दा बरु जे बोलिए पनि लेख्दा शुद्ध भएन भने त्यो शब्दको अर्थ अर्कै पनि लाग्न सक्छ । यसले समग्ररुपमा अप्ठ्याराहरु पैदा गर्ने भएकाले विशेष गरि लेखकले यसतिर ध्यान दिनु जरुरी छ । अरु कुरा छोडौं , कुरा गरौं नेपाली भाषाकै। नेपालका धेरै जातजातीका आ–आफ्नै भाषाहरु भएपनि नेपालीभाषा साझा र राष्ट्रियभाषा हो । बहुसंख्यक नेपालीले यहि भाषाको प्रयोग गर्छन् ।
नेपालको शिक्षाप्रणालीले नेपालीभाषा र नेपाली विषयलाई सानो कक्षा देखि स्नातक सम्म नै अनिवार्य बनाएको छ । यो सकारात्मक कुरा पनि हो । तर हिजोआज नेपालीभाषाको लेखाईमा त्यति ध्यान पु¥याइएको पाईंदैन । निजीस्तरमा खुलेका कतिपय प्रकाशन गृहहरुले त बच्चाले लेखेको जस्तो अशुद्ध शब्दहरु लेखेर पुस्तक बजार पठाउने गरेको पाइएको छ । यस्तो अवस्था भएपनि सरोकारवाला निकायले खासै ध्यान दिएको देखिंदैन । यस्ता अशुद्ध छपाई भएका पुस्तकहरु बजार पठाउन कानुनीरुपमा प्रतिबन्ध लगाईएको भएपनि व्यवहारमा त्यो लागू नहुँदा बालबालिकाहरुमा भ्रम मात्र पैदा गराएको छैन, समग्ररुपमा नेपाली विषय र भाषाकै पनि बेइज्जत भएको छ ।
केहि दिन अगाडीको कुरा हो । कक्षा ३ मा पढ्ने मेरो फुच्चेले आफूले गरेको गृहकार्य मलाई देखाएर मिल्यो कि मिलेन भनेर सोध्यो । मैले उसको नेपाली विषयको कापी हेरें । त्यहाँ लेखिएको थियो –’ तिम्रो विद्यालयको बारेमा १० वाक्य शुद्ध सँग लेख ।’ मैले उक्त वाक्यमा लेखिएको विद्यालय र शुद्ध शब्द नमिलेको र सुधारेर लेख भनें । लगत्तै उसले भन्यो– ‘ बाबा मेरो किताबमा त त्यस्तै लेखिएको छ , मैले के गर्नु त !’ त्यसपछि मैले उसको नेपाली किताब पल्टाएँ । त्यहाँ प्रयोग गरिएका शब्दहरु देख्दा मलाई त्यसका लेखकहरु प्रति दया लागेर आयो । प्रभाती किरण र नारायण निरासी लेखक तथा सम्पादक रहेको र शुभारम्भ पब्लिकेसन प्रा. लि. ले बजारमा पठाएको कक्षा ३ को छरितो नेपाली नाम दिईएको उक्त पुस्तक करिव १५ मिनेट जति हेर्दा मैले यस्ता शब्दहरु भेटाएँ । –“ विद्यार्थी, शुद्ध, विद्यालय , प्रसिद्ध, बुद्धि, लामबद्ध, श्रद्धेय , अबरुद्ध, श्राद्ध, विद्वान, अभिबृद्धि, युद्ध, वृद्ध ।” तुलसीहरि कोइरालाद्वारा लिखित ‘पढ्ने बानी’ शिर्षकको नाटकमा यस्ता शब्दहरु थुप्रै प्रयोगमा आएको पाइयो ।
अनि लाग्यो , यसरी नेपाली विषयमा ठाडो रुपमा प्रयोग गरिएका अशुद्ध शब्दहरुलाई अंकुश लगाउने कानुन नेपालमा अहिले सम्म बनेको छैन कि ! यदि छ भने बालमस्तिस्कमा गलत छाप छोड्ने गरि यस्ता शब्दहरु नेपाली विषयमा किन र कसले प्रयोग गरेको छ भनेर खोजी गर्नु सम्बन्धित निकायको काम होइन र ? यो पुस्तक पढ्ने जो सुकैलाई पनि यस्ता प्रश्नहरु उब्जनु स्वभाविक हो । त्यस पुस्तकको पेज नं. २९ मा फुल शब्दको समुह जनाउने शब्द गुच्छा भनेर लेखिएको पनि पाइयो । नेपाली व्याकरणले फुललाई पंक्षीको अण्डा र फूललाई पुष्प भनेर अर्थ लगाएको छ । यसर्थ उल्लेखित गुच्छा समुहवाची नाम भएको शब्द यो फूल हुनु पर्ने हो । यसमा सम्पादकहरु नराम्ररी चुकेको प्रष्टै देखिन्छ । कतिपय ठाउँमा अंग्रेजी भाषाका बोलीचालीका आगन्तुक शब्दहरुलाई यसरी पनि प्रयोग गरिएको पाइयो । ‘अब हामी हाम्रो बानी चेन्ज गर्छौं ।’ चेन्जको ठाउँमा परिवर्तन भनेर राखिंदा त्यसले दिन खोजेको अर्थ फरक हुन्थ्यो र ? कि अंग्रेजी शब्दले स्तरियता दिलायो ?
यस्ता थुप्रै गल्तीहरु भेटिन्छन् । अब हामी आफैं सोचौं के यो ठिक हो त ? यो त नेपाली पुस्तक भित्रको अशुद्ध शब्दहरुको कुरा भयो । हिजोआज नेपाली शब्दहरु यस्ता पनि प्रयोगमा आएका छन् कि त्यो शब्द नेपाली नै हो त भनेर हामी सशंकित हुन्छौं । केहि समय अगाडि मात्र प्रर्दशनमा आएको एउटा नेपाली चलचित्रको पोष्टरमा चलचित्रको नाम । ‘षडब्ग’ लेखिएको देखें । अचम्म लाग्यो , यो के शब्द हो ? र यसको के अर्थ हुन्छ ? यस्ता प्रश्नहरुले सताइरहे । शब्दकोष पल्टाएँ । खासै प्रष्ट अर्थ त्यसमा पनि लेखिएको छैन । केहि बुद्धिजीवीहरुलाई सोध्दा राजनितीक रुपमा गलत बाटो हिड्ने बानी परेको भन्ने अर्थ दिए । यो मिल्यो कि मिलेन त्यो मलाई अझै सम्म पत्तो छैन । नामको अर्थ नै थाहा नभएको त्यो चलचित्र कतिले के भनेर हेरे होलान् र यसले कति लगानी उठायो होला भनेर चाहिं अहिले सम्म नै उत्सुकता जागेको छ ।