२१ साउन, काठमाडौं । पाकिस्तानले जम्मु काश्मिरको शान्ति खलबलाउन खोजेको भारतले आरोप लगाएको छ । उधमपुरमा दुई जना भारतीय सुरक्षाकर्मीको मृत्यु हुने गरी भएको आक्रमणमा पनि पाकिस्तानको हात रहेको भारतको दाबी छ ।
केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले विहीबार दुबै सदनमा आक्रमणबारे जानकारी दिँदै आतंकवाद विरुद्ध लड्न भारत कटिबद्ध रहेको बताए ।
पछिल्लो एक महिनामा सीमापारबाट पाँच पटक घुसपैठको प्रयास भएको र चार प्रयासलाई विफल पारिएको उनले जानकारी गराए । त्यसक्रममा आठ घुसपैठियालाई मारिएको उनको भनाइ छ ।
गृहमन्त्री सिंहले उधमपुरमा भएको आक्रमणमा संलग्नहरु पाकिस्तानबाट आएको दाबी सदनमा प्रस्तुत गरे । एक पाकिस्तानको फैसलावाद घर भएको एक आक्रमणकारी पक्राउ परेको र उनको नाम मोहम्द नावेद भएको सिंहले सदनलाई जानकारी दिए ।
यसैगरी सिंहका अनुसार जवाफी कारवाहीमा मारिएका अर्का आक्रमणकारीको नाम मोहम्मद नोमान थियो र उनी पाकिस्तानको बहावलपुरका हुन् ।
गृहमन्त्री सिंहले आक्रमणकारीलाई जिउँदै पक्रनेहरुलाई पुरस्कृत गर्न जम्मु काश्मीर सरकारलाई निर्देशन दिइसकेको र सहिद भएका सुरक्षाकर्मीलाई पनि उचित सम्मान दिनेबारे बिचार विमर्श भैरहेको जानकारी दिए ।
संसदमा हंगामा
यसैबीच विदेशमन्त्री सुषमा स्वराज, मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान र राजस्थानका मुख्यमन्त्री बसुन्धरा राजेको राजीनाको विषयलाई लिएर संसदमा हंगामा भएको छ ।
कांग्रेसका २५ लोकसभा सदस्यहरुलाई निलम्बनको विरोधमा विहीबार तेस्रो दिन पनि कांग्रेस र विपक्षी पार्टीहरुले विरोध जारी राखे । विरोध प्रदर्शनमा जद-यू पनि सहभागी भएको छ ।
लोकसभामा नाराबाजी गरेको भन्दै लोकसभा अध्यक्ष सुमित्रा महाजनले कांग्रेसका २५ सांसदलाई पाँच दिनका लागि निलम्बन गरेकी थिइन् ।
संसद परिसरमा सन्चारकर्मीसँग कुरा गर्दै कांग्रेस उपाध्यक्ष राहुल गान्धीले संसदमा आफूहरुको आवाजलाई दबाइएको बताए ।