महिलाको जस्तै लामो कपाल, ऋषिमुनिहरुको जस्तै लामो दाह्री, निधारमा तेसो चन्दन अनि गलामा तुलसीको माला लगाएका यी व्यक्तिलाई झट्ट हेर्दा धेरैलाई लाग्छ, उनी ठुलै सन्त माहात्मा हुन् । र, धेरैलाई लाग्न सक्छ, अहिले भइरहेको धर्मसम्बन्धी बसहमा यी माहात्माले पक्कै पनि धर्म सापेक्ष राज्यकै पक्षमा वकालत गर्लान् । तर, कुरो बेग्लै छ ।
न्युरोडस्थित संकटामन्दिर नजिकै सेर्माले खोलेको किरात ज्योतिषको कार्यालयमा पुग्दा मुन्धुमविद् एवं किरात ज्योतिष चन्द्रकुमार सेर्मा आफ्ना केही चेलासँग गफ गरिरहेका थिए । छेउमा किरात धर्मगुरु स्व. फाल्गुन्द र जीवित किरात धर्मगुरु आत्मानन्द लिङदेनको तस्वीर सजिएको थियो । कुराकानीका क्रममा उनले आफूहरुलाई कतिपय आदिवासी जनजातिले ‘हिन्दु’को आरोप लगाएकोमा गुनासो गरे । उनले भने- हामी हिन्दुकृत पनि होइन, हामी क्रिश्चियनकृत पनि होइन, वुद्धकृत पनि होइन, किरातहरु आफैंकृत हो । मुन्धुमकृत हो, फाल्नुनन्दकृत हो ।
तपाई डाक्टर चन्द्रकुमार सेर्मा । के विषयमा डाक्टर गर्नुभएको ?
-किरात ज्योतिष एक अध्ययन ।
ज्योतिष पनि किरात र अकिरात भन्ने हुन्छ र ?
-यो त संज्ञामात्रै हो । तपाई अरुण भनेजस्तै हो । तपाई अरुण नदी त हैन नि ।
किन किरात ज्योतिष भनेको ? ज्योतिषमात्रै भनेको भए हुँदैनथ्यो ?
-ज्योतिषको उत्थान क्रममा किरात जातिहरुको मुन्धुम ज्योतिष लोप हुने अवस्थामा थियो । मभन्दा पूर्व रणध्वजले चार पाँचवटा कृतिहरु लेखेको बाहेक नेपाली साहित्यमा झण्डै झण्डै भानुभक्तभन्दा पनि मुनि नै थियो ।
महागुरु फाल्गुनन्दले ०२० सालदेखि उता ९०/१०० सालमा कर्याङ कुरुङ ज्योतिषको प्रारम्भिक आधारहरु तयार गरेका थिए । त्यसलाई शुन्य अवस्थामै भन्दा पनि हुन्छ । मैले पनि सुख सयल आनन्दमा बस्ने इच्छा गरेको थिएँ, एकदम परमानन्दमा बस्ने लक्षमा थिएँ । तर, मेरै गुरु आत्मानन्द लिङदेनले उहाँकै आश्रममा बोलाएर तिमी किरात विभूति हुन्छौ भने किरात ज्योतिषलाई उठाऊ भन्नुभयो । मेरा गुरु मलाई २१ वर्ष साधाना दिएर यो उचाइमा पुर्याउने सिद्ध पुरुष हुन् । मैले नो भन्न सकिँन । त्यसपछि मैले किरात ज्योतिष उत्थान संघ मैले चन्द्रगढीमा स्थापना गरें ।
त्यसपछि एउटा पञ्चाङ्ग पात्रो निकाल्न मलाई ८ वर्ष लाग्यो । ८ वर्षको अभ्यासमा ज्योतिष सिक्दासिक्दै आचार्य गरें, अनि पीएचडी भएँ ।
हिन्दुशास्त्रमा जस्तै किरातहरुको मुन्धुममा पनि ज्योतिषको कुरा छ ?
-मुन्धुममा पनि छ । मुन्धुममा ज्योतिषलाई खाइक् भन्छन् । गणित गरेर, बटारेर सोध गर्नुलाई मुन्धुममा खाइक् भन्छ ।
बाटामा बसेर हात हेर्ने ब्राह्मण ज्योतिष र तपाईमा के फरक छ ?
-त्यो पनि ज्योतिष हो । तर, फरक के हो भने तिनीहरु पेट पाल्नका लागि हुन् विचराहरु । हैसियत कम भएर हो ।
सामान्य पेट पाल्न सिकेपछि बस्नुपर्यो खाली ठाउँमा । पेटको समस्या हो त्यो । हस्तरेखाबाट पीएचडी गर्ने, ठूला ठूला गणित, ज्योतिषशास्त्र, फलित शास्त्र, सिद्धान्तशास्त्र जान्नेहरु त्यसरी बस्दैनन् । मैले त झन् पैसा त नतोकी बसेको छु ।
तर, काठमाडौंमा अफिस खोल्नुभएको रहेछ….
-यो पनि संगठनको मात्रै हो । किरात ज्योतिष हेरेर यति लिन्छु भनेर काहीँ देख्नुभएको छ ? अरु बाहुनहरुको जस्तो देख्नुभएको छ ? कान्तिपुरमा काहीँ देख्नुभएको छ ? जबकि मैले ज्योतिष अध्ययन गरेको ४० वर्षभयो, अहिलेसम्म सूचना आउट छैन । र, कसैलाई यति रुपैयाँ चाहिन्छ भनेर बोलेको छैन ।
चिना पनि हेर्नुहुन्छ ?
-ज्योतिष भनेको नै तीनवटा हो नि त । गणित ज्योतिष, जो गणतामात्रै हुन्छ, त्यो म्याथम्याटिक्स हो । फलित ज्योतिष, जसले रिजल्टहरु बताइरहन्छ । र, सिद्धान्त ज्योतिष, दर्शनशास्त्रहरुको अध्ययन गर्ने । यी तीनवटै विषयको ज्ञान अलि अलि नहुने त ज्योतिषै हुँदैन नि । एसएलसी गर्नेले अलिअलि अंग्रेजी, अलिअलि गणित, व्याकरण जान्दछ नि, त्यस्तै हो ।
तर, म पैसा र टाइम तोकेर बस्दिँन । म कस्तो त भन्दा सेवामूलक । म सेवाको हिसाबले ज्योतिष हेर्छु । पेवा र व्यवसायको हिसाबले होइन ।
फाल्गुनन्द पछाडिका स्वामी प्रपन्नाचार्य र त्यसपछिका किरात विद्वान चन्द्रकुमार सेर्मा हुन् भनेर बुझ्दा हुन्छ ?
-अहिलेसम्म चाँहि त्यसरी नै हो । प्रपन्नाचार्यको खाली सीटमा जाने मैमात्रै एउटा किराती हुँ । उनले वेदान्तबाट पीएचडी गरे, उनी मेरै जिल्लाबासी हुन् । मेराबारे उनी पनि बोलेर टुंग्याउँदैनन्, उनका बारे म पनि बोलेर टुंग्याउँदिन ।
– See more at: http://www.onlinekhabar.com/2015/07/305989/#sthash.Fsw6ibls.dpuf