१२ साउन, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देव विगतमा नागरिकता अध्ययनसम्बन्धी कार्यदलका अध्यक्षसमेत भइसकेका अनुभवी सभासद हुन् । संविधानको मस्यौदामा उल्लेख गरिएको नागरिकतासम्बन्धी प्रावधानबारे मधेसमा विरोधका आवाजहरु आइरहेका बेला देवचाँहि त्यति असन्तुष्ट देखिएनन् ।
मस्यौदामा उल्लेखित ‘आमा र बाबु’बारे उनले टिप्पणी गर्दै यसमा महिलावादीहरुको चासो बढी रहेको बताए । सीडीओ कार्यालय जाँदा बुबाको मात्रै नागरिकता बोक्दा हुनेमा अब आमाको पनि बोकेर जानुपर्ने उनले बताए ।
अनलाइनखबरसँग कुरा गर्दै देवले मस्यौदामा भएको व्यवस्थाप्रति मधेसी समुदायको ठूलो चित्त दुखाइ नरेको स्पष्ट पारे । संवैधानिक पदहरुमा बंशजकै नागरिकले मात्रै भाग लिन पाउने व्यवस्था पनि सही रहेको उनले बताए ।
मधेसको नागरिकताबारे पहाडे समुदायमा बढी चिन्ता देखिन्छ । तर, भारतीयहरुले नेपालमा पसेर नागरिकता लिए भने यसबाट मधेसी समुदायलाई बढी घाटा हुन्छ कि पहाडेलाई ?
नक्कली नागरिकताको सीधा असर हामीलाई पर्छ । जहाँबाट पनि आएर नागरिकता लिन्छ भने हामी आदिवासी रैथाने मधेसीहरुलाई असर गर्छ । हाम्रो अवसर खोसिन्छ, राजनीतिक पावर सेयर हुन्छ । चाहे त्यो पहाडबाट आओस् कि युपी बिहारबाट । हामी बढी सचेत हुनुपर्छ र हामीले मोलाहिजा गर्नु हुँदैन यसमा ।
नेपालजस्तो सानो देशमा हाम्रो नागरिकतासम्वन्धी व्यवस्था कठोर हुनुपर्छ कि नरम ?
सन्तुलित हुनुपर्छ । कठोरका नाममा राजा महेन्द्रवादी चिन्तनले नेपाललाई दुर्घटनामा लैजान्छ । नरम र फ्लेग्जिबल भन्ने नाममा हाम्रो देशको संवेदनशीलतालाई पनि नबुझेको अवस्थामा जटिलता ल्याउँछ ।
मुख्य कुरा, हाम्रो केन्द्रीय बुझाइ के हुनुपर्यो भने नेपाली नागरिक, जो यथार्थमा नेपाली नागरिक हो, उ नागरिकताबाट बञ्चित हुनु हुँदैन । यसलाई केन्द्र भागमा राखेर नागरिकतासम्वन्धी कानून बनाउनुपर्छ ।
नक्कली नागरिकताकै कुरा गर्दा मधेसतिर मात्र बढी हेरिन्छ । तर, भुटानी शरणार्थीदेखि दार्जीलिङ र असामबाट आएका मान्छेले पनि नेपाली नागरिकता लिएको सुनिन्छ नि ? यसमा तपाई के भन्नुहुन्छ ?
पूर्वी नेपाल, उत्तरी नेपाल र सुदूर पश्चिम नेपालमा पनि नागरिकताको समस्या छ । सेती महाकालीका मान्छेहरुले हरेक दिन धार्चुला, कुमाऊ, गढवालका मान्छेहरुसँग विवाह गर्छन् । एउटै भाषा हो, भूगोल हो, विहाबारी हुन्छ । उत्तरी नेपालको भोट क्षेत्रमा तिब्बतीहरुसँग त्यस्तै सम्वन्ध छ ।
तराईको सीमाना लामो भएको र जनसंख्या धेरै भएकाले ठुलो संख्यामा देखियो । त्यसपछि दोस्रो समस्या भनेको पूर्वी नेपालमा छ । जहाँ हेल नर्थइष्टमा नेपाल भाषीको बिहाबारी सबै हुन्छ । त्यसैले हाम्रै नेपालमा आर्मी, पुलिसमा दार्जीलिङ सिक्किमका मान्छे छन् । ठूलो पदमा पुगेका छन् । यता ध्यान कम जान्छ । किनभने सत्ता जसले सञ्चालन गर्छ, उसले आफ्नो कुरा इम्पोज गर्छ । आफ्नो इन्ट्रेष्टमा नीति बनाउँछ, कमजोरी ढाकछोप गर्छ । यो सत्ताको चरित्र हो ।
डेनमार्कमा अहिले दोस्रो ठूलो पार्टी कुन छ भन्दा जसले बाहिरबाट आउने र नागरिकता लिने व्यवस्थाले डनमार्कलाई समाप्त पार्छ भन्यो । त्यो डेनिस पिपुल पार्टी छ । त्यसकारण मैले अघि नै भनेँ, यो इस्यु नर्थ इष्टमा धेरैचोटि देखियो । नेपाली भाषीहरु लेखेटिएर, पिटिएर आसाम, मेघालय, मणिपुरतिरबाट नआएका होइनन् । तराईमा पनि विहार युपीबाट आएका मानिसहरुमाथि पनि त्यस्तै भएको छ ।
खुला सीमा छ । रोटी र बेटीको सम्वन्ध पनि छ । यो कन्टेक्स्टमा हामीले दुबै कुरामा ध्यान दिनुपर्छ । साह्रै कठोर भएर अन्य मुलुकको नक्कलतिर गयौं भने पनि समस्याको समाधान हुँदैन । साह्रै नरम भइयो भने पनि विदेशीहरुले सजिलै नागरिकता लिन पाउने अवस्था आयो भने नेपाललाई गाह्रो हुन्छ ।