नेपालकै सबैभन्दा धनी व्यक्ति नभए पनि डाक्टरहरूमध्ये राज्यलाई सबैभन्दा बढी आयकर तिर्ने नागरिक हुन्- ओम अस्पतालका प्रमुख डा. भोला रिजाल । धनकुटा पुर्ख्यौली थलो भएका डा. रिजाललाई अनलाइनखबरले मुख्यतः तीनवटा विषयमा प्रश्न सोधेको छ : एक- गरीबको छोरो डाक्टर बन्न सक्छ कि सक्दैन ? दुई- नयाँ पुस्तालाई डाक्टरी नै पढ्न सल्लाह दिनुहुन्छ कि अरु नै विषय ? र, तीन- माथेमा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि डा. गोविन्द केसी फेरि अनसन बस्ने चर्चा छ, यसमा तपाईको समर्थन रहन्छ कि विरोध ?
डा. रिजालको अनुभव रहेछ : डाक्टरी पेशा निरीह, सम्मान नपाइने एवं अति संघर्ष गर्नुपर्ने पेशा हो । दोस्रो- सजिलै दाम र नाम कमाउने मन भए नेतागिरी गर्नु राम्रो हुन्छ, जहाँ ‘क्वालिफिकेसन’ चाहिँदैन । र, तीन- माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन भए नेपालको मेडिकल शिक्षा धरासयी हुन्छ । माथेमा आयोगलाई टेकेर अनशन बस्दा विदेशीलाई फाइदा पुग्छ र डा. गोविन्द केसीले कुनै महत्व पाउँदैनन् ।
डाक्टरी विद्या धनीले मात्रै पढ्न सक्छन् कि गरीबका छोराछोरीलाई पनि यो पेशामा ठाउँ छ ?
जहाँ इच्छा त्यहाँ उपाय । गरीबले डाक्टर पढ्न सक्दैन भन्ने हो भने मैले धनी भएर डाक्टरी पढेको होइन । जतिखेर सीट आयो, अरुहरुले पाए, मैले पाइँन । नपाएपछि आफ्नै पैसाले भए पनि पढ्छु भनेर मैले आँट गरें र म ढाका गएँ ।
मैले त्यहाँ जम्मा तीन महिना आफ्नो पैसाले पढें हुँला । त्यसपछि मैले काम गर्न थालें । रिसर्चको काम गरें । त्यहीँ रेडियोमा जर्नालिज्म गरें । म न्युज रिडर थिएँ । न्युज ट्रान्सलेट गर्थें, फिचर लेख्थें, अन्तरवार्ताहरु लिन्थें । म प्रोग्राम अर्गनाइज्ड गर्थें । त्यसरी मैले ढाका रेडियोमा आठ वर्ष काम गरें । आफ्नो कमाउनेमात्रै त छाडिदिनोस्, मैले कमाएको पैसाले अरु दुईजना पालिन्थे ।
अहिले जेहेन्दार विद्यार्थीको कुरा आउँछ । सरकारले दुई सय सीट दिएको छ । जेमा पनि स्कलरसीप छ, जेमा पनि कोटा छ । त्यसकारण पैसाको आडमा पढ्ने भनेको त मैले धेरै कम देख्छु ।
तर, के हो भनेदेखि संसारका जुनसुकै कुनामा पनि पब्लिक सेक्टर र प्राइभेट सेक्टर हुन्छन् । पब्लिक सेक्टरमा त पाउनै गाह्रो हुन्छ । कसैले पनि एकदमै राम्रो बेस्टमा पनि बेस्ट छ भने पब्लिक सेक्टरमा प्रयास गर्छन् र पाएन भने मात्रै प्राइभेटमा आउँछन् । यहाँचाँहि ठीक उल्टो छ ।
तर, पढ्नका लागि, अगाडि बढ्नका लागि, आफ्नो प्रतिभा देखाउनका लागि पैसाको आड चाहिन्छ भनेर जसले भन्छन्, हो, पैसा चाहिन्छ, तर त्यही मात्रै सबथोक हो भनेर म भन्दिँन । ईच्छाशक्ति भयो भने गर्न सकिन्छ, त्यसको ज्वलन्त उदाहरणै म छु ।
मैले बनारसमै पनि कहिल्यै महिनाको दुईसय रुपैयाँ खर्च गरिँन । कसैले अनुमानै गर्न सक्दैन कि मैले ०२९ सालमा ढाकामा ५ हजार डलरको जागिर छाडेर नेपाल आएर ४ सय ५० रुपैयाँको जागिर खाएको हुँ ।
एसएलसीमा अलिकति राम्रो नम्बर ल्याउने विद्यार्थीहरु डाक्टर पढ्ने ईच्छा गर्छन्, तपाई उनीहरुलाई डाक्टर नै पढ भन्नुहुन्छ या अरु नै विषय पढ्न सल्लाह दिनुहुन्छ ?
अहिले मैले कोही पनि डाक्टरी नपढ बाबु, मैलेजस्तो दुख तिमीहरुले नपाओ भनें भनेदेखि मलाई मानिसहरुले बहुलाहा भन्छन् । आफूले चाहिँ नाम पनि कमायो, दाम पनि कमायो, जे पनि गर्यो, अरुलाई चाहिँ त्यो बाटो नहिँड् भनेर सल्लाह दिन्छ भन्छन् । त्यसकारण कुरो के हो भनेदेखि मेरो सबैलाई अनुरोध छ, यदि यो लाइनमा संघर्ष गर्न, सबैको भनाइ सुन्न, आफू अपहेलित नागरिक भएर बाँच्न यदि कोही पनि राजी छ भनेदेखि आफ्नो स्वालम्वन र सेवाका लागि त्यसले डाक्टर हुनैपर्छ । आफ्नो रहरले होइन, बाबुबाजेको डाइनेस्टीले होइन, यहाँ गएँ भने मेरो रोजीरोटी मर्दैन भनेर होइन, त्यहाँ गएँ भने म संघर्षशील हुन सिक्छु, मैले २४ घण्टा पनि आफ्नो भनेर सुत्न पाउँदिन, मैले सुत्नु हुँदैन र म राष्ट्रकै एउटा सबैभन्दा तिरस्कृत व्यक्ति भएर बाँच्न तयार छु भनेर डाक्टर बन्न तयार हुनुपर्छ ।
डाक्टरहरु तिरस्कृत हुन्छन् र ?
अहिलेकै भुइँचालोमा पनि हामीले देख्यौं, कसरी तीनवटा औंलाहरु बाँचे ? चाहे त्यो सुरक्षाकर्मी होस्, चाहे त्यो सञ्चारकर्मी होस्, चाहे त्यो स्वास्थ्यकर्मी होस् । यी बाहेक अरु त घर गएर सुतेका थिए । यिनीहरु कहिल्यै पनि सुत्न पाउँदैनथे ।