काठमाडौं (एजेन्सी) । रुसले अमेरिका र युरोपेली हतियार भएको एउटा ठूलो डिपो नस्ट गरेको दाबी गरेको छ ।
रुसी सेनाले कालिब्र क्रुज मिसाइलमार्फत युक्रेनको ठूलो डिपो नस्ट गरेको इन्टरफ्याक्स समाचार संस्थालाई उदृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ ।
रुसी मेजर जनरल इगोर कोनासेन्कोभले भने, ‘लामो दूरीको कालिब्र मिसाइलहरूले चोरतकिभ क्षेत्रको बस्ती नजिकैको ठूलो गोदामलाई् नष्ट गरेको छ ।’ गोदामका हतियारलाई अमेरिका र युरोपेली देशहरुले उपलब्ध गराएको उनले बताए ।
यसैबीच, रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो वायु रक्षा बलले युक्रेनी युद्धक विमानहरू खसालेको जनाएको छ । मन्त्रालयका अनुसार रुसी सेनाले मिकोलायभ क्षेत्रमा एमआई जी– २९ विमान र खार्किभ क्षेत्रमा एउटा एसयु–२५ लडाकु विमान खसालेको थियो ।
युक्रेनलाई हतियार आपूर्ति गरेकोमा मस्कोले बारम्बार संयुक्त राज्य अमेरिका र अन्य राष्ट्रहरूको आलोचना गर्दै आएको छ । यदि पश्चिमले युक्रेनलाई उच्च परिशुद्धता मोबाइल रकेट प्रणालीमा प्रयोग गर्नका लागि लामो दुरीका क्षेप्यास्त्रहरू उपलब्ध गराएमा रूसले नयाँ लक्ष्यहरू प्रहार गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिइसकेका छन् ।
रुसी हमलासँगै अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई अत्याधुनिक हतियार उपलब्ध गराएका छन् । पछिल्ले समयमा रुसी फौजले युक्रेनका निश्चित क्षेत्रलाई निशाना बनाएको छ ।