काठमाडौं। अवैध रूपमा सुन ल्याएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपडामा फल्स बटम बनाएर सुन ल्याउँदै गरेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुल्मीका सुरेशबहादुर शाही, कपिलवस्तुका सन्दिप चन्द ठकुरी, बाराका प्रकाश घलान, धनुषाका बरुनभक्त माथेमा, नवलपरासीका युवराज भुसाल, चिनियाँ नागरिक नागरिक लोब्सान ग्याल्सेन र भारतीय नागरिक अमन राजपुत रहेको प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरले जानकारी दिए ।
शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्तिहरूले भन्सार छलेर सुन ल्याउँदैछन् भन्ने सूचना प्रहरीले पाएको थियो ।
सूचनाको आधारमा प्रहरीले कार्यालयबाट विशेष अनुसन्धानको टोली खटिएको थियो । त्यसक्रममा प्रहरीले सुरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेटबाहिर दुई जना गुल्मी घर भई रूपन्देहीको सैनामैना–१ बस्ने ४२ वर्षीय सुरेशबहादुर शाही र कपिलवस्तु बस्ने २९ वर्षीय सन्दीप चन्द ठकुरीमाथि निगरानी राखेको थियो ।
उनीहरूमाथि शंका लागेर चेक गर्दा उनीहरूले लगाएको कपडामा सुनको धुलो बनाएर ल्याएको फेला परेको हो । उनीहरूले लगाएको सर्ट, पाइन्ट र अन्डरवेयरलगायत विभिन्न भागहरूमा सुनको पेस्ट लगाएको फेला परेको हो । सन्दीप चन्द ठकुरीबाट ५७२.१६० ग्राम र सुरेशबहादुर शाहीबाट ३९६.८९ ग्राम सुन फेला पारेको (एसएसपी) कुँवरका ले बताए । प्रहरीले उक्त मात्राको सुन कपडाबाट पगालेर निकालेको हो ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएपछि फेरि अन्य पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले सो सुन भारततर्फ लग्न खोजेको देखिएको छ । उनीहरूलाई सोमबार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरण काठमाडौं पठाएको छ ।