काठमाडौं (एजेन्सी) । अब टर्कीलाई विश्वमा टर्किये भनेर चिनिने भएको छ । संयुक्त राष्ट्रसंघले आफ्नो नाम परिवर्तन गर्न टर्कीको अनुरोध स्वीकार गरेको हो ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन दुजारिकका अनुसार टर्कीका विदेशमन्त्री मेभतुल काभुसिग्लुले संयुक्त महासचिव एन्टोनियो गुटेरेलाई पत्र लेखेर टर्कीको नाम बदलेर टर्किये राख्न अनुरोध गरेको बताए । टर्कीका विदेशमन्त्रीको आग्रहलाई स्वीकार गर्दै संयुक्त राष्ट्रसंघले टर्कीको मागलाई स्वीकार गरेको छ ।
गएको मङ्गलवार टर्कीका विदेशमन्त्रीले संयुक्त राष्ट्र र अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई पत्र लेख्ने जानकारी दिएका थिए ।
टर्कीका राष्ट्रपति रेचप तैयप एर्दाेआनले गएको डिसेम्बरमा आफ्ना देशका नागरिकलाई अन्तर्राष्ट्रियस्तरमा हरेक भाषामा टर्किये नाम प्रयोग गर्न भनेका थिए । त्यसबेला एर्दाेआनले टर्कियेलाई सबै देशले मान्दछ भनेका थिए ।
उनले टर्कीयेले टर्कीका नागरिकको संस्कृति, सभ्यता र मान्यतालाई राम्रोसँग प्रतिनिधित्व गर्ने बताएका थिए । यसका साथै एर्दाेआनले आफ्नो देशका कम्पनीबाट निर्यात हुने वस्तुमा पनि ‘मेड इन टर्किये’ लेख्न भनेका थिए ।
सन् १९२३ मा विभिन्न मुलुकको उपनिवेशबाट स्वतन्त्र भएको टर्की वास्तवमा त्यहाँको स्थानीय भाषामा टर्कीलाई नकारात्मक मानिन्छ । क्याम्ब्रिज अंग्रेजी शब्दकोश अनुसार टर्की भनेको मूर्ख वा पराजित हो । धेरै टर्कीहरूले पहिले नै आफ्नो देशको लागि टर्किए शब्द प्रयोग गरिसकेका छन् ।