अबिरल वर्षाको कारण बाँकेको नेपालगञ्जका न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक लगायतका क्षेत्र जलमग्न छन् । यातायात आवामन र व्यवसाय प्रभावित भएको स्थानीयबासीले बताएका छन् । स्कुल कलेज जाने विद्यार्थी, कर्मचारी र कामविशेषले घर बाहिर जानुपर्नेहरु समस्यामा परेका छन् ।नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबान भएको छ । बजार र ग्रामिण बस्ती नै डुबानमा परेपछि स्थानीयबासीको दैनिकी प्रभावित भएको छ ।
वर्षेनी हुने डुबान हुने गरे पनि समस्या समाधानको उचित पहल भएको छैन । पानी निकासको प्रवन्ध नमिलाउँदा र सीमा क्षेत्रमा भारतीय पक्षले बाँध बाँध्दा नेपालगन्ज डुबानमा पर्ने गरेको छ । भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन् । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बाँकेको डुडुवा, राप्तीसोनारी र नदी आसपासका नागरिकलाई अग्लो तथा सुरक्षित स्थानको खोजी गर्न आग्रह गरिएको बताए ।
बर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचित गरेको छ । उद्धारका लागि सुरक्षाकर्मीलाई ‘हाईअलर्ट’मा राखिएको छ ।