काठमाडाैँ। आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा असन्तुष्टि जनाउँदै कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल काँग्रेसले अवरोध गरेको छ ।
कर्णाली–रारा पर्यटन वर्ष २०७५ को खर्च सार्वजनिक गर्न माग गर्दै काँग्रेसले बैठक अघि बढ्न नदिने चेतावनी दिएको छ । सरकारले आजै नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । काँग्रेसको अवरोधका कारण हिजोको बैठक स्थगित भएको थियो । आज पनि आफ्ना मागमा सरकार गम्भीर नबने बैठक अघि बढ्न नदिने काँग्रेसको तयारी रहेको छ । हिजोको बैठकमा सभामुख राजबहादुर शाहीले काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई पाँच मिनेटको समय दिनुभएको थियो । उहाँले बोलेलगत्तै काँग्रेसका सदस्यले बैठक अवरुद्ध गरेका थिए ।
नेता शाहीले सरकारले तीन तीन विधेयक भिन्नाभिन्नै तरिकाले ल्याएपछि भिन्नाभिन्नै दफामा उल्लेख गर्नुपर्ने माग गर्नुभयो । उहाँले प्रदेश सरकारले रातो किताब र कर्णाली–रारा पर्यटन वर्ष २०७५ को यथार्थ खर्च सार्वजनिक नगरेसम्म बैठक चल्ने नदिने चेतावनी दिनुभएको थियो ।