गृहमन्त्री रामबहादुर थापा (बादल)ले मुलुक समृद्धिको आधार नै भौतिक पूर्वाधारको विकास भएकाले यसमा हेलचक्र्याई गर्नलाई नछोड्ने बताएका छन् ।
ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको शनिबार उदघाटन गर्दै गृहमन्त्री रामबहादुर थापा । साथमा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई । तस्बिर : रासस
शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले अहिलेको सरकारको प्राथमिकता नै आर्थिक विकास र समृद्धि भएकाले भौतिक पुर्वाधार निर्माण ढिलाई गर्ने कारबाही गरिने कारबाही गरिने बताएको हो ।
उनले मुलुकका कुनै पनि भौतिक संरचनाको निर्माणमा संलग्न रहेर काम पूरा नगर्ने, बीचैमा छाडेर भाग्ने ठेकेदारलाई सम्बन्धित मन्त्रालयले छानबीन गरेपछि कारबाहीका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने बताए ।
प्रशिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सडक निर्माणमा भएको ढिलासुस्तीका बारेमा समेत चासो राख्दै उनले यस्तो बताएको हो । २०७२ को असारमा (कन्काई) कम्पनीले दुई वर्ष्िभत्रै ग्राभेल गर्ने, नाली काट्ने कामसक्ने गरी सम्झौता गरे पनि हालसम्म काम पूरा नभएकोमा सञ्चारकर्मी लगायतले यस विषयमा मन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।
यसैबीच मुलुकका विभिन्न सीमा क्षेत्रमा निकट भविष्यमा नै जनशक्ति उत्पादन गरी सुरक्षा व्यवस्था मिलाइने पनि उनले बताए । अहिलेको जनशक्तिले सबैतिर धान्न नसक्ने भन्दै चाँडै यसको व्यवस्थापन गर्ने तर्फ केन्द्रित भएको उनको भनाइ छ ।
यसअघि बहान जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको मन्त्री थापाले उद्घाटन गरे । एकवर्ष अघि करीब रु ६ करोडको लागतमा निर्माण भएको भवनको उद्घाटन गरेका हुन् ।
मन्त्री थापाले आज बिहान जिल्लास्थित नेपाल कम्युनिष्ट पार्टीका अगुवा कार्यकर्तासँग भेटघाट गरे ।
यसअघि उत्तरी नाका ओलाङचुङगोला क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय भए पनि मौसमले साथ नदिएकाले मन्त्री थापा संखुवासभाको जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटनका लागि त्यस तर्फ गएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसिले जानकारी दिए ।