त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले बिहीबार रौतहटको गढीमाई नगरपालिकाको मुसहर बस्तीमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गरेका छन् । उनी सर्वसाधारणको स्वास्थ्य परीक्षण र न्यानो कपडा वितरणका तराई झरेका हुन् ।
डा. केसीले रौतहटको गढीमाई नगरपालिकाका विभिन्न वडाका चमार, दुसाद, मुसहर, सरभङ, डोमलगायत बस्तीमा न्यानो कपडा पनि वितरण गरेका छन् । उनीसँगै डा. तोसिमा कार्की, अभिशेख राजसिंह पनि दलित बस्तीमा पुगेका छन् ।
उनले बाटोमा भीख माग्न बसेका तथा ज्याला मजदुरी गर्नेलाई समेत न्यानो कपडा वितरण गरेका छन् । डा. केसीसहितको टिम बुधबार काठमाडौंबाट केही थान कम्बल र न्याना लुगा बोकेर रौतहट आएको हो । यसपालिको शीतलहरले रौतहटमा २३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।