काठमडौं १३ पुस । नारायणगढ–मुग्लिन सडकखन्डमा यही पुस १८ गतेदेखि राति यातायात बन्द गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखन्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो ।
काममा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय भरतपुरमा बुधबार सम्पन्न सरोकारवालाहरुको बैठकले राति पाँच घन्टा र दिउँसोको समयमा एकतर्फी सवारी सन्चालन गरेर कामलाई तीव्रता दिने निर्णय गरेको हो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादव, सुरक्षा निकायका प्रमुख, ठेकेदार कम्पनीका प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।
बैठकले रातिको समयमा भित्तो काट्ने, सम्याउनलगायत काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारी सन्चालन गरेर कालोपत्र गर्नेे कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाए सवारी आवागमन प्रभावकारी बनाउने, सवारी रोकिएको समयमा कामलाई तीव्रता दिने र रातिको समयका काम गर्न विद्युत् प्राधिकरणसँग समन्वय गरी उज्यालोको व्यवस्था गर्ने निर्णय गरेको छ ।
ठेकेदार कम्पनीका प्रतिनिधिहरुले भने दिउँसो ८ घन्टा सवारी रोकेर काम गर्न दिन माग गरेका थिए । रातिमा काम गर्ने जनशक्ति अभाव हुने र कामलाई सोचेजति छिटो गर्न नसकिने उनीहरुको भनाइ थियो ।
प्रजिअ भट्टले काम सन्तोषजनकरुपमा अगाडि बढ्न नसकेको र यसअघि गरिएका निर्णयलाई कार्यान्वयन नगरिएको बताउँदै कामलाई तीव्रता दिन आग्रह गरेका थिए । उनले भने–‘हामी निर्णय गर्दै जान्छौं, त्यो कार्यान्वयन हुँदैन । काम पनि हुन सकेको छैन । जनताले पनि दुःख पाएका छन् ।’
नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख यादवले विगतमा नाकाबन्दी, चक्काजाम, इन्धन अभावका कारण कामको प्रगति हुन नसकेको बताउँदै चालु आर्थिक वर्षमा पनि वर्षा, चाडपर्व र निर्वाचनले गर्दा सोचेजति काममा प्रगति हुन नसकेको स्पस्ट पारे ।
उनकाअनुसार हालसम्म समग्रमा ६८ प्रतिशत काम सम्पन्न भएको छ । पहिलो खन्डमा ६८ प्रतिशत, दोस्रो खन्डमा ७४ प्रतिशत र तेस्रो खन्डमा ६१ प्रतिशत काम सम्पन्न भएको छ ।
उक्त सडकखन्डको १६ किलो र २२ किलोमा ५०० मिटर र ३३ किलोमा ३०० मिटर भित्तो काट्ने काम अझै बाँकी रहेको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।
उनकाअनुसार अहिलेसम्म १३ दशमलव ५ किलोमिटर सडक एक तह कालोपत्र भएको छ । सो सडक तीन पत्र कालोपत्र गरिँदैछ । राजधानी प्रवेशको ‘लाइफलाइन’कारुपमा यो सडकलाई लिने गरिन्छ ।