चितवन, त्रिशुलीमा बिहान खसेको बसबाट उछिट्टिएर नदीमा बग्दै गरेका २ महिनाको बच्चासहित २७ जनाको जिवितै उद्दार गरिएको छ ।
विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारस्थित शसस्त्र प्रहरीका एसपी बीरबहादुर श्रेष्ठले दिएको जानकारी उनुसार २ महिने बच्चासहित अहिलेसम्म २७ जनाको उद्धार गरिएको छ । तीमध्ये अधिकांशको कुरिनटारको पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
काठमाण्डुबाट नारायणगढतर्फ आउँदै गरेको बस इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारमा आज बिहान ९ः१५ बजे दुर्घटना हुँदा मृत्यु भएकामा चार पुरुष र दुई महिला छन् ।
प्रजिअका अनुसार घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि काठमाण्डु र अन्यलाई भरतपुरतर्फ ल्याउँदै गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार लु २ ख २९१ नंको उक्त बस काठमाण्डुतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो ।
दुर्घटनास्थल मुग्लिनबाट १३ किमी काठमाण्डुतर्फ पर्छ । सो बस काठमाण्डुबाट बिहान ५ः४० बजे हिँडेको प्रहरीले जनाएको छ ।
सो बसले बिहान बालाजुबाट २६ यात्रुको चलानी लिएर आएको थियो । त्रिशूलीमा खसेको बसको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् ।