निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की चढेको गाडी एम्बुसमा परेको छ । सडकमुनी राखिएको बम विष्फोट विष्फोट हुँदा कार्कीसहित चारजना गम्भीर घाइते भएका छन् ।
चुनावी प्रचारका सिलसिलामा कार्कीसहितको टोली जाँदै गर्दा करिब साढे १० बजेतिर घटना भएको हो । कटारीबाट उदयपुरगढीको नेपालटार बजारमा आयोजित आमसभामा सहभागी हुन टोली आउँदै थियो ।
घटनामा परी उम्मेदवार कार्की र उनका सहयोगी कार्यकर्ताहरु मीरा कटुवाल, धनमाया धौलाकोटी र चालक राजन कार्की गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि लैजान राजधानीबाट हेलिकप्टर आइरहेको छ । आउनासाथ सबैलाई राजधानी पठाइने प्रहरीले जनाएको छ ।
चुनावी प्रचार अभियानमा रहेका कार्कीलाई कसले बम प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।