यहाँका विभिन्न शहरमा प्रस्तुति दिन नेपाल आइडलका विजेताहरू अहिले बेलायतमा छन्।
नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई, दोस्रो रनर अप प्रताप दास तथा टप टेनकी प्रतियोगी प्रमिला राई ‘नेपाल आइडल लाइभ इन यूके’का लागि गतसाता बेलायत आएका हुन्।
मनकामना रेमिट, पोखरा ट्राभल तथा मुन्टाज इन्टरनेसनलको आयोजनामा बेलायतका ५ शहरमा कार्यक्रमहरू गर्न लागिएको हो ।
जसमध्ये सबैभन्दा पहिलो शो शुक्रबार अल्डरसटमा सम्पन्न भयो। ७ सयभन्दा बढी दर्शकले एम्पायर हल खचाखच भरिएको उक्त शो हेर्न पुगेका कतिपय हलमा प्रवेश नपाएर फर्किनुपरेको थियो।
कार्यक्रमको शुभारम्भ बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी, आयोजक मनकामना रेमिटका राजाराम गिरी र आयोजक पोखरा ट्राभलका निर्देशक तथा तमु धि यूके अध्यक्ष ज्ञाम गुरूङले गरेका थिए।
धागो ब्याण्डको लाइभ संगितमा लगातार ३ घण्टासम्म कलाकाहरूले सांगीतिक प्रस्तुति दिएका थिए। उनीहरुले लोक, आधुनिक, पप, रक सबै विधाका गीतहरुको बेजोड प्रस्तुति दिए।
कार्यक्रमको सञ्चालन गर्न नेपाल आइडलकै होस्ट सुशील नेपाल छन् भने आइडलहरुको मेन्टरको रुपमा चर्चित कन्दराका ब्याण्डका गायक विवेक श्रेष्ठ छन्।
नेपाल आइडलको थप शोहरू शनिबार फोक्स्टन, आइतबार ह्यारो तथा अर्को शनिबार ११ तारिख रेडिङ र आइतबार १२ तारिख प्लमस्टिडमा आयोजना हुनेछन् ।
ह्यारोमा उमेशराज मोक्तान, रेडिङमा सपन कुमार राई तथा प्लमस्टिडमा दिपक थापाले शो संयोजन गर्नेछन्।


                        
                        
                                        
                                        
                                        
                                        
                                        
                                        
                                        
                                        
                                        
                                        
                                        
                                        