नेपालगञ्जमा मंसिर २९ गते हुने नेपथ्य लाइभ कन्सर्टको तयारी तीब्र पारिएको छ । मानव सेवा आश्रमले नेपालगञ्ज रंगशालामा गर्न लागेको कन्सर्टका लागि तयारी तीब्र पारिएको जनाइएको छ । नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर आयोजकले आश्रमको भवन निर्माणार्थ गर्न लागिएको कन्सर्टका लागि टिकट विक्री नै प्रमुख स्रोत भएकाले टिकट विक्रिलाई नै पहिलो प्राथमिकता दिएर तयारी र सक्रियता बढाइएको जनाएको छ ।
मूल समिति संयोजक कृष्णप्रसाद श्रेष्ठले कन्सर्ट अवलोकनका लागि धेरै भन्दा धेरै जनाको उपस्थिति गराएर कार्यक्रम सफल बनाउन सबैलाई आग्रह गरे । कन्सर्टको तयारी स्वरुप मूल समिति र उपसमितिहरु गठन गरी तयारी व्यापक बनाइएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठको संयोजकत्वमा मूल समिति, शुक्रऋषि चौलागाईको संयोजकत्वमा मिडिया तथा प्रचारप्रसार व्यवस्थापन समिति, जयनाराण शाहको संयोजकत्वमा सुरक्षा तथा समारोह स्थल व्यवस्थापन समिति, उमा ग्राण्डन डाँगी संयोजक रहेको आवास व्यवस्थापन समिति, गोविन्द पाण्डे संयोजक रहेको सरकारी तथा सार्वजनिक क्षेत्र समन्वय समिति लगायत ११ वटा विषयगत उपसमितिहरु बनाइएका छन् ।
सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमले नेपालको चर्चित व्याण्ड नेपथ्यसंगको सहकार्यमा मानव सेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालीन अक्षयकोष स्थापनार्थ कार्यक्रम गर्न लागेको मिडिया तथा प्रचारप्रसार व्यवस्थापन समिति संयोजक चौलागाईले बताए । मानव सेवा आश्रमले समाजसेवी तथा दानवीर जैकेश सिंहले मानव सेवा आश्रमको भवन निर्माणका लागि डुडुवा गाउँपालिका वडा नम्बर ६ मा १० कट्ठा जग्गा दान गरेपछि निर्माण प्रक्रिया सुरु गरेको छ ।