असार, नेपालगन्ज । बाँकेको खजुरामा रहेको क्यान्सर अस्पताल यहि असार २९ गतेबाट सञ्चालनमा आउने भएको छ ।
परोपकार मिसन नेपालद्धारा प्रस्तावित नेपाल क्यान्सर अस्पताल खजुराको ९ औं साधारण सभामा अस्पताल सञ्चालनको अन्तिम तयारी रहेको जानकारी दिईएको हो ।
सुरुमा ओपिडी सेवा सञ्चालनमा आउने छ । सेटेलाईट प्रविधिमार्फत ओपिडि सेवा सञ्चालनमा ल्याउन लागिएको संस्थाका अध्यक्ष किष्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।
अस्पताल सञ्चालनमा आएपछि मध्य र सुदूरपश्चिमका क्यान्सर पीडित विरामीहरुलाई चितवन तथा भारतीय अस्पताल धाउनु पर्ने बाध्यताको अन्त्य हुने छ । २०६७ सालबाट निर्माण सुरु भएको अस्पतालमा हालसम्म साढे ३२ करोड खर्च भइसकेको छ ।
अस्पतालको पुरै संरचना निर्माणका लागि ६५ करोड लाग्ने अनुमान छ । अस्पताल सञ्चालनका लागि सुरुमा महायज्ञबाट साढे पाँच करोड रुपैयाँ सङ्कलन भएको थियो भने अन्य रकम सरकारले व्यवस्था गर्दै आएको छ ।
सरकारले थप १० करोड रुपैयाँ अस्पताल निर्माणका लागि विनियोजन गरेको छ । १ सय शैया क्षमताको उक्त अस्पताल सुरुमा ५० शैयाको हुने छ ।