दीप बहादुर घर्ती
जाजरकोट, २३ चैत । जिल्लाको एक प्रवेशिका परिक्षा केन्द्रमा झाँडा पखाला लागेर परिक्षामा सहभागी ४ दर्जन विद्यार्थी विरामी परेका छन् । झाँडा पखालाले सताएपछि परिक्षामा सहभागी विद्यार्थीहरु विरामी परेका हुन् ।
जनप्रिय उच्च माध्यामिक विद्यालय दशेरा परिक्षा केन्द्रमा झाँडा पखालाले चार दर्जन विद्यार्थीहरुले उपचार गराई रहेको स्वास्थ्य चौकी दशेराका ईन्चार्ज नविना कँडेलले वताईन् । तीन दिन पहिले देखि फैलिएको झाँडा पखालाका विरामीहरुको टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी जस्ता लक्षणहरु देखा परेको ईन्चार्ज कँडेलले वताईन । प्रकोप फैलिएको दोश्रो दिनको तुलनामा विरामीको संख्गा घट्दो अवस्थामा रहेको कँडेलको भनाई छ । कँडेलले दिएको जानकारी अनुसार मंगलवार झाँडापखालाका विरामीहरु १९ जना रहेका छन् भने, रुघाखोकी र ज्वरोका विरामीहरु २० जना भन्दा वढी रहेका छन् ।
दशेरामा फैलिएको झाँडापखालालाई नियन्त्रण भन्दा बाहीर जान नदिने गरि आफुहरु उपचारमा लागी परेको स्वास्थ्यकर्मी राम बहादुर थापाले वताएका छन् । विरामीहरुको उपचारको लागी जिल्ला अस्पताल र स्वास्थ्य चौकी सुवानाउलीवाट औषधीहरु थप गरिएको निमित्त जिल्ला जनस्वास्थ्य प्रमुख डा। बम बिसीले वताएका छन् । विरामीहरुको उपचारका लागि चार जना स्वास्थ्यकर्मी परिचालन गरिएको बिसीले जानकारी दिए ।
केन्द्राध्यक्ष सेर बहादुर अधिकारीले दिएको जानकारी अनुसार झाँडा पखाला लागेर विरामी परेकाहरु विद्यार्थीहरुमा वाल उच्च मावि झाप्राका भीम बहादुर थापा, कल्पना गिरी, विमला गिरी, प्रेम बहादुर खड्का, करवीर बिसी, प्रमिला थापा, कमला रावत, प्रेम बहादुर खड्का र विपना शाही रहेका छन् । त्यसैगरी सरस्वती मावि सिमाका परिक्षर्थीहरुमा विमला बिसी, कमला अधिकारी र गरिमा बिसी रहेका छन् । रामोदय मावि जेवाका विरामी परिक्षार्थीमा विवेक थापा, राजन बिसी र गणेश थापा रहेका छन् । त्यसैगरी लक्ष्मी मावि अन्दरकोटका परिक्षार्थीहरुमा कमला वुढा, सविना विसी र उमेश विसी रहेका छन् । प्राथमिक उपचार सहित विरामी विद्यार्थीहरुलाई परिक्षामा सहभागी गराईएको केन्द्राध्यक्षको भनाई छ ।
त्यसैगरी झाँडा पखालाले केन्द्राध्यक्ष सेरबहादुर अधिकारी, निरक्षक हर्क बहादुर थाापा, विपना थापा, ऐन बहादुर थापा, अम्मर बिसी र कल्पना गिरी विरामी परेको केन्द्राध्यक्ष सेर बहहादुर अधिकारीले टेलीफोनमा वताए । ५ सय २१ जना विद्यार्थीहरुले परिक्षा दिईरहेको परिक्षा केन्द्रमा सुक्क मोसमवाट पैदा भएको दुसित हावापानी र खानपिन यस्तो समस्या आएको हुन सक्ने केन्द्राध्यक्ष अधिकारीको भनाई छ ।
जिल्लाका १९ वटा परिक्षा केन्द्रवाट ६ हजार ७ सय ५८ जना विद्यार्थीहरुले प्रवेशिका परिक्षा दिई रहेका छन् । त्यसमा नियमित तर्फ ४ हजार ४ सय २५ जना, एक्जाम्टेड तर्फ २ हजार २ सय ८९ जना र प्राविधीक विषय तर्फका ४४ जना विद्यार्थीहरु रहेका छन् ।
यस जिल्लाको विभिन्न भागहरुमा विगत २०६६ सालमा फैलिएको झाँडापखालाले ३ सय ५० जनाको ज्यान गएको थियो भने, गत वर्षको चैत अन्तिम देखी वैसाख सम्ममा फैलिएको स्वाईन फ्लुवाट २७ जनाको ज्यान गएको थियो । ३ सय ५० जनाको ज्यान जाने गरी २०६६ सालमा फैलिएको झाँडापखाला जिल्लाको नायकवाडाँ, रोकायगाउँ, सक्ला, दशेरा, पजारु, मजकोट लगाएतका गाविसवाट फैलिएको थियो भने २७ जनाको ज्यान जाने गरि गत वर्षमा फैलिएको स्वाईन फ्लु जिल्लाको अर्छानी, टालेगाउँ, पैंक सक्ला लगाएतका गाविसवाट फैलिएका थियो ।