काठमाडौं । सरकारले नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक (आईजी) मा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको हो ।
यसअघि गृहमन्त्री बालकृष्ण खाँणले वरियताक्रममा अगाडि रहेका विश्वराज पोखरेललाई आईजीपी नियुक्त गर्नुपर्ने अडानमा थिए । तर, अन्तिममा प्रधानमन्त्री शेरबहादुर देउवाकै अडानमा सिंह आईजीपीमा नियुक्त भएको बताइएको छ ।
सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र झण्डै एक वर्षअघि बढुवा भएका सहकुलबहादुर थापालाई पन्छाएर सरकारले सिंहलाई आईजी बनाएको हो ।
सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत थिए । सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए ।
हालका आईजीपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधिका कारण आइतबारबाट अवकाश पाउँदैछन् । आइतबारबाटै सिंहले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।