अछाम । जिल्लाका गाउँहरु अझै छाउगोठले छोडेका छैनन् । धेरै गाउँका महिला अहिले पनि छाउ बार्नुपर्ने बाध्यतामा छन् । कतिपय गाउँ तयारीबिना धमाधम छाउगोठ मुक्त घोषणा पनि गरिको छ ।
रजस्वालाको समयमा दूध, दही लगायतका पोषिलो खानेकुरामा पनि प्रतिबन्ध लगाइने अधिकारकर्मी पशुपति कुँवरले बताए । ‘यो बेला नछुने भएकी, छुइनेरी, पाखा सरेकी जस्ता विभेदपूर्ण भाषा प्रयोग गरिन्छ,’ उनले भनिन्, ‘सुत्केरी अवस्थामा समेत यस्तै गरी छाउ बार्नुपर्छ ।’ जसले गर्दा साँघुरो गोठ, ढुङ्गाको ओडार र खुला आकाशमुनि रात कटाउँदै आएका महिलाहरूमा जिउ सुनिने, चिसोले कठ्याङ्ग्रिने जस्ता सस्या भोग्न बाध्य छन् । मुख्यतया पश्चिम नेपालमा कुप्रथाको रूपमा जरा गाडेको छाउपडी सामाजमा कलङ्कित मात्र नभएर समग्र क्षेत्रको विकासमा बाधक पनि छ । महिनावारी भएका महिला घरमा बस्दा देवी देवता रिसाउने, सर्प बाघ भालुको डर हुने र आगलागी हुने जस्ता गलत बुझाइले गर्दा छाउपडी पूरै हट्न सकेको छैन ।
एमाले उपाध्यक्षसमेत रहेका अछाम क्षेत्र नम्बर १ का सांसद भीम रावलले सरकारले कानुन निर्माण गरिसकेकाले सबैको दायित्व कानुन कार्यान्वयन गर्नुभएको बताए । पूर्वउपप्रधान तथा गृह मन्त्रीसमेत भइसकेका रावलले यसका लागि जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । अछाम जिल्लाका विभिन्न ठाउँमा गरी ११ वर्षदेखी महिला तथा बालबालिका कार्यालय अछामसँगै एक दर्जनबढी सङ्घसंस्थाहरूले छाउपडी प्रथाविरुद्ध काम गरिरहेका छन् । कुप्रथाविरुद्ध सचेताना फैलाउनेदेखि सामाजिक अभियानमा महिलाको सहभागिता गराउने काम पनि ति संस्थाहरूले गरिरहेका छन । तर केहि सुधार भने छैनन्।
जिल्लामा गोठमुक्त अभियान चले पनि पछिल्लो करिब डेढ दशकको अवधिमा गोठमै १२ महिलाले ज्यान गुमाउनु परेको तथ्याङ्क छ । पछिल्लो पटक छाउपडी ‘फौजदारी अपराध’ बनेको कानुनले धेरैजसो महिला तथा किशोरीहरू खुशी भएका छन् भने धामी झाँक्रीलाई झस्काएको छ । कानुन आउँदा छाउपडी गोठमा बस्न नपर्ने र घरमै बस्न पाइने भन्दै महिलाहरू खुशी भएका छन् भने जिल्लाका धामी झाँक्रीहरू पनि छाउपडीलाई घरमै राख्नुपर्छ भन्ने कुरामा सकरात्मक बन्दै गएका छन् ।