डोल्पा, २५ माघ । डोल्पा जिल्लालाई सकेसम्म छिटो राष्ट्रिय राजमार्गको पहुँचमा विस्तार गर्न वैकल्पिक मार्ग खोजी गरिएको छ ।
अहिलेसम्म सडक सञ्जालको सुविधा नभएको डोल्पामा जाजरकोट–डोल्पा सडकखण्डको अलवा एक वर्षभित्रै डोल्पासम्म मोटरबाटो पुर्याउन मौरे त्रिपुराकोट मार्गको खोजी गरिएको छ ।
डोल्पालीलाई सकेसम्म छिट्टै नै सडक सुविधाको विस्तार गरी जनजीवनमा सहजता ल्याउन कर्णालीकै जुम्लाको सिमानामा पर्ने मौरेदेखि त्रिपुराकोटसम्मको सडकखण्डको निर्माणका लागि केन्द्रसम्म पहल गरिएको छ ।
यस सडकखण्डबाट तुलनात्मकरुपमा कम लगानीमा डोल्पासम्म सडक विस्तार गर्न सकिने भएकाले अहिले रु १० करोडबराबरको लागत अनुमान बनाई स्थानीय विकास मन्त्रालयमा पेस भएको छ ।
डोल्पाको रिमी गाविसस्थित चौरीकोटसम्म गत वर्ष नै कच्चीबाटो जोडिसकेकाले त्यहाँदेखि करिब दुई किलोमिटर सडक खण्डमात्रै चट्टानयुक्त भई गाह्रो हुने भए पनि बाँकी सबै कमसल माटो भएकाले डोजरले थोरै समयमा नै धेरै निर्माण कार्य गर्न सकिन्छ ।