काठमाडौं उपत्यकासहित देशभर पानी परेपछि केही चिसो बढेको छ । जाडो महिनाको यो नै पहिलो वर्षा भएकाले चिसो बढेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशभर पानी परेको हो । मौसममा आएको बदलीसंगै देशभर पानी परेको छ भने उच्च पहाडी क्षेत्र र हिमाली भेगमा हिउँ परेको छ ।
पश्चिमी वायुको प्रभाव बेलुकासम्म पर्ने भएकाले आज पनि काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्रीमा झरेको काठमाडौंको तापक्रम दिउँसो १६ देखि १८ डिग्रीसम्म पुग्ने अनुमान छ । पोहोर यो बेलासम्म ३ पल्ट पानी परिसकेको थियो । अबको केही दिन चिसो भएपनि अर्को ठूलो प्रणाली नआए विस्तारै तापक्रम बढ्दै जाने मौसमविदले बताएका छन् ।
हिजो देशभर पानी परेपछि मुस्ताङ, मनाङ, जोमसोम, मुगु, रसुवा, धादिङ र सिन्धुपाल्चोकको उच्च क्षेत्रमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभाव बेलुकादेखि हट्दै गएपछि बिहीबारदेखि क्रमिक रुपमा मौसम सुधार हुने मौसमविदको भनाई छ ।