काठमाडौँ, २४ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले नाकाबन्दीको विकल्प खोज्न सबै दल एक हुनुपर्ने बताउनुभएको छ ।
स्व गणेशमान सिंहको १०१औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमै भएको प्राकृतिक स्रोत सम्पदालाई प्रयोग गरी नाकाबन्दीको विकल्प खोज्नुपर्ने बताउनुभयो ।
विसं २०४६ को जनआन्दोलनका नायक गणेशमान सिंहले सबै दललाई एक गराएर जनआन्दोलनको नेतृत्व गरे जस्तै अब सबै दलहरू मिलेर आर्थिक क्रान्ति गर्नुपर्ने उल्लेख गर्नुभयो ।
वर्तमान राजनीतिमा स्व गणेशमान सिंहले गरेको जस्तो त्यागको खाँचो रहेको औँल्याउँदै महामन्त्री सिंहले भन्नुभयो– “लोकतान्त्रिक मूल्य मान्यता र प्रजातन्त्र प्राप्तिका लागि बिना स्वार्थ लड्ने व्यक्ति सिंह हुनुहुन्थ्यो ।”
उहाँले कठिन परिस्थितिमा पनि सिद्धान्त र आदेशको अविचलित रही लड्ने व्यक्ति स्व सिंह हो भन्नुभयो ।
गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा गणेशमान सिंहसँग जोडिएका विभिन्न सङ्घसंस्थाले आज विभिन्न कार्यक्रम गर्दैछन् ।