कोहलपुर नगरपालिकाले ‘जनतासँग मेयर’ कार्यक्रम सुरु गरेको छ । कोहलपुर नगरपालिकाका १५ वटा वडा मध्ये सबैभन्दा पिछडिएको वडा नम्बर ७ बाट ‘जनतासँग मेयर’ कार्यक्रम सुरु गरिएको हो ।
कोहलपुर नगरबासीको समस्या, गुनासो तथा सुझाव सुन्ने र त्यसलाई सम्बोधन गर्ने सवालमा भइरहेका पहल र प्रयासबारे जानकारी गराउने उद्देश्यले ‘जनतासँग मेयर’ कार्यक्रम सुरु गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए । उनले आफूहरुको ध्यान कोहलपुर नगरपालिकाको सन्तुलित विकासमा केन्द्रित रहेको पनि स्पष्ट पारे । त्यसका लागि जनताका समस्या, गुनासा र सुझाव सुन्न जनताकै माझ जान जरुरी रहेकाले जनतासँग मेयर कार्यक्रम सुरु गरिएको नगर प्रमुख आचार्यको भनाई छ ।
“कोहलपुर नगरपालिकालाई समृद्ध नगर बनाउने अभियानमा छौं,” उनले भने-“त्यसका लागि कुनै एउटा वडा विकसित भएर हुँदैन । त्यसैले सबै वडालाई विकसित बनाउने गरी योजना बनाइएको छ ।” एउटा वडा समृद्ध हुँदा अर्को वडा कर्णाली जस्तै दुर्गम हुन नहुनेमा आफू सचेत रहेको पनि उनले स्पष्ट पारेका छन् । ‘जनतासँग मेयर’ कार्यक्रम क्रमशः सबै वडामा हुने पनि उनले जानकारी दिए ।
कोहलपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ठग्गा थारुको सभापतित्वमा भएको ‘जनतासँग मेयर’ कार्यक्रममा वडाका जनप्रतिनिधि, सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, स्थानीयबासी, बिद्यालय व्यवस्थापन समिति, वन उपभोक्ता लगायतमा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।
त्यसक्रममा स्थानीयबासीहरुले नगरपालिकाले प्रबाह गरेका सेवाहरु, आफ्नो टोल तथा वडाको विकासमा भइरहेका पहलकदमी, स्थानीयबासीले झेल्नुपरेका बाटोघाटो, नाला, ढल तथा शिक्षा, स्वास्थ्य लगायतका विभिन्न समस्याबारे जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएको कोहलपुर नगरपालिकाका प्रवक्ता नमबहादुर आलेले जानकारी दिए ।